Ad Image

कर्णाली विकास बैंक घोटाला: १०९ जनाविरुद्ध ३ अर्ब बिगो माग दाबीसहित मुद्दा दायर

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/karnali bank ltd.png

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर भएको छ ।

सूचना अधिकारी बलबहादुर विष्टका अनुसार, कुल ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपैयाँ बिगो माग दाबी गरिएको छ । बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर रायलाई सर्वाधिक २ अर्ब ६३ करोड ३२ लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ । 

यस्तै, एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्रलाई ८२ करोड ४६ लाख, राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई १० करोड ८९ लाख र बैंकका तत्कालीन वित्त विभाग प्रमुख वेद प्रकाश सिंह ठकुरीलाई २४ करोड ६३ लाख बिगो दाबी गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहित १११ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । प्रतिवादीमध्ये ४ जना पक्राउ परेका छन् भने ३ जनाको मृत्यु भएको छ र १०४ जना फरार छन् ।

पक्राउ परेका बस्नेतले बैंकको अनुगमनका क्रममा घोटाला लुकाउन भूमिका खेलेको र उनको खातामा बैंकबाट १० लाख रुपैयाँ आएको भेटिएको सीआईबीले जनाएको छ ।

मध्यपश्चिमकै पहिलो विकास बैंकका रूपमा २०६६ सालमा स्थापित कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले २०८१ पुस १० गते समस्याग्रस्त घोषणा गरी व्यवस्थापन आफ्नो हातमा लिएको थियो ।