Ad Image

सुदूरपश्चिममा एमालेद्वारा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ‘ह्विप’ जारी

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/uml.jpg

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहले लिने विश्वासको मतका पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई आज ‘ह्विप’ जारी गरेको छ ।

संसदीय दलको कार्यालय धनगढीमा बसेको बैठकपछि प्रमुख सचेतक चक्रबहादुर मल्लले बिहीबार बस्न लागेको प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न र तटस्थ नबस्न ह्विप जारी गरिएको जानकारी दिएका हुन् ।

यसअघि नेपाली कांग्रेस संसदीय दलले पनि मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरिसकेको छ । सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले असार २० मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार साउन १७ गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्छ । नाउपाले समर्थन फिर्ता लिए पनि सत्तापक्षीय दल कांग्रेस र एमालेसँग प्रदेशसभामा बहुमत कायम छ ।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८ र एमालेका ११ प्रदेशसभा सदस्य छन्, जबकि नाउपाका ७ सदस्य छन् । माओवादी केन्द्रसँग ११, नेकपा (एकीकृत समाजवादी) सँग ४ (एक निलम्बित), एक राप्रपा र एक स्वतन्त्र सदस्य छन् ।