Ad Image

फुलचोकीमै अमेजन जंगलको अनुभवः दावा नभए बन्थ्यो चिहान घर, भेटिन्थे रूखसँगै लास

User Image अम्बिका खड्का | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-08-02 at 5.04.13 PM.jpeg

काठमाडौं । गत वर्ष पुस ८ गतेका लागि मैले साथीहरुसँग ‘हाइकिङ’ जाने योजना बनाएँ । काठमाडौं वरपरका नाम चलेका ‘हाइकिङ’ जाने ठाउँ प्राय म गइसकेको थिएँ । कुनै ठाउँ त दोहोर्याएर पनि गएको थिएँ । यो पटक नयाँ ठाउँ जानु थियो । ‘गुगल’मा सर्च गरेर हेरेँ  । काठमाडौंको भिडभाड–ध्वनी प्रदूषण र धुलो–धुवाँबाट केही घण्टालाई मुक्ति दिएर फ्रेस हुने ठाउँ पत्ता लाग्यो, ललितपुरको गोदावरीमाथिको डाँडो अर्थात हाइकिङ स्पट ‘फुलचोकी’ ।

गोदावरीसम्म गाडीमा जान सकिने र त्यहाँबाट हिँड्नुपर्ने, गौरिशंकर हिमाल र काठमाडौंको मनोरम दृश्य देखिने र हिउँ पनि खेल्न पाइने ठाउँ रहेछ ‘फुलचोकी’ । पुसको जाडोमा तराईँमा घर भएको म ‘फुलचोकी’ पुगेर हिमाली भेगको अनुभव हुने गरी हिउँ खेल्न पाउने योजना मनको कुनामा बनाउँदा मख्ख थिएँ । साथीहरूको साथमा सुसेली हाल्दै रूख–बिरूवा र चराचुरूङ्गीसँग बोल्दै फुलचोकी डाँडामा पुगेर हिउँका डल्ला हान्ने रहरले मसहित ५ जनाले बाटो ततायौँ ।

बाटोमा ११–१२ पढ्ने ६ जना भाइहरूको टोली पनि भेटियो । एउटा भाइ र बहिनी मात्रै हिँडिरहेको अर्को टोली पनि बाटोमा भेटिएर हामीसँग मिसिएपछि त अनकन्टार जंगलमा बाघको–बाघसँग पनि जुध्ने आँट थपियो । साथीहरू र नयाँ भेटिएका भाइहरूसँग मस्किँदै, सँगै फोटो खिच्दै हामी ‘घनघस्याको उकालो’जस्तै उकालो बाटो पत्तै नपाई चढ्यौं । तीन वटा टोली अगाडि पछाडि हुँदै फुलचोकीको डाँडामा पुग्यौं । डाँडामा पुगेपछि चारैतिरको रमणिय दृश्यले शहरको कोठामा बसेर मोबाइल, कम्युटर र किताब हेरेका आँखालाई चङ्ख बनायो । झरेको फुरफुर तुसारोको स्पर्श अनुभवलाई मनको कुनामा लगेर सुरक्षित साथ राख्यौं । यता काठमाडौं उपत्यकालाई नियालेको दृश्य पनि कहिल्यै नमेटिने गरी मनको अर्को कुनामा लुकाइदियौं । एकछिन टोलायौं। डाँडोमा फनफनी घुम्यौं, बात मार्यौं । चारै दिशाबाट देखिने टाढा टाढाका डाँडादेखि बस्तीसम्म अड्कलबाजी गर्यौं । कति साथीले त बिहे गरी घुमघाम गर्न यही डाँडोमा फेरि आउने योजना मनमा लेखेर पनि थन्क्याए होला । दिन ढल्दै जाँदा डाँडोमा बस्ने धित मर्दै गयो । हामी फर्किने तयारीमा लाग्यौं ।

फर्किने बेलासम्म कहिल्यै नदेखेका तर बाटामा भेटिएका सबै ‘हाइकर’हरू एकले अर्काको मन पढ्न सक्ने गरी साथी भइसकेका थियौं । मिलेर फेरि त्यही अघिको उकालो अब ओरालो बनाएर फर्कियौं । तीन टोलीको १३ जना भएपछि हाम्रो ग्रुप ठूलो बन्यो । रमाइलो बढ्यो । हाँसो र ठट्टाले जंगल गुन्जयमान भइरहेको थियो । हामी ‘सर्टकर्ट’ बाटो खोज्दै ओरालो बाटो झर्दै गन्तव्य छोट्याउँदै थियौं । अचानक एउटा ‘सर्टकर्ट’बाट बाहिर निस्किँदा नयाँ ठाउँमा पुगेको महसुस भयो । यो बाटो बिहान जाँदाको बाटो होइन भन्ने हामीलाई लाग्यो । कता जाने अलमल भयो । अलि अगाडि फेरि एउटा सर्टकर्ट जस्तो देखियो । कतै न कतै पुगिएला भनेर छिर्यौं । केही समय हिँडेपछि बाटो नै टुंगियो ।

ढुंगैढुंगाको ठाडो ओरालो हात टेक्दै झर्यौँ । त्यो बाटो नभएर पानी सुकेको झरना रहेछ । लगभग त्यो अफ्टयारो बाटो १ घण्टा झरेपछि पहिरो गएको ठाउँ पुगियो । अगाडि जाने ठाउँ थिएन् । नेटवर्क टिपेको भएर ‘म्याप’ हेर्यौं । हामी जंगलको बीचमा थियौं । घडीले साँझको ५ बजाइसकेको थियो । अघि झरेको ओरालो फर्केर हेर्दा ठाडो उकालो देखिन्थ्यो । ठाडो उकालो चढेर फर्किन सक्ने अवस्था थिएन । अगाडि पहिरो । दायाँ र बायाँ खुट्टा पनि नअडिने भीर । अब चैं प्रहरीलाई फोन गर्नुपर्छ भनेर ‘१००’ मा फोन गर्यौं । केही समय पर्खिन भनियो । प्रहरीको केही आश भने थिएन् । हामीले त्यहिँ बस्ने र बिहान भएपछि आएकै बाटो फर्किने सोच बनायौं । रुखको फेदमा बस्ने ठाउँ बनाएर आगो बालेर बस्यौं । ‘१००’ मा फोन गरेको आधा घण्टापछि लगातार प्रहरीको फोन आउन थाल्यो । त्यसमध्ये एउटा फोन थियो मिश्रण तामाङ (दावा) को । उनले आफ्नो परिचयसहित लोकेशन मागे । हामी गलत ठाउँमा पुग्यौं भन्ने महसुस हुनासाथ रुख नम्बर याद गर्दै झरेका थियौं । पहिरो गएको ठाउँ र रुख नम्बर भन्नासाथ उनले ठाउँ चिने र भने, ‘म प्रहरी लिएर आउँछु । मैले ठाउँ थाहा पाइसकेँ । तपार्इँहरु त्यहाँबाट कतै नगएर सुरक्षित मात्र भएर बस्नुस् है ।’ यो आवाजले हामीलाई थोरै सान्त्वना दियो । प्रहरीले त उद्दारकर्ता लिएर आउने रैछ जस्तो लाग्यो । ७ बजे मिश्रण तामाङसहित ५ जनाको प्रहरी टोली हामी बसेकै ठाउँ आइपुग्यो र ८ बजेसम्ममा हामीलाई गोदावरी झारियो ।

जंगलको बीचमा ‘पहिरो गएको ठाउँ मा छौंँ’ भनेकै आधारमा प्रहरी आउला भन्ने हामीलाई लागेकै थिएन् । बसेकै ठाउँमा प्रहरी पुग्दा हामी खुसी भयौं । प्रहरीप्रति थप सम्मान जाग्यो । तर प्रहरीले कसरी ठाउँ पत्ता लगायो भन्ने थोरै उत्सुक्ता पनि हामीसँग थियो । वास्तवमा हाम्रो उत्सुकता सहि थियो । किनकी प्रहरीलाई न हाम्रो लोकेशन थाहा थियो न त लोकेशन पत्ता लगाएर जंगल छिर्ने आँट नै । त्यसो भए हाम्रो उद्दार कसरी भयो त ?

हामी मात्र होइन् ललितपुर, काभ्रे र मकवानपुर गरी तीन जिल्लाको जंगल मिसिएको फुलचोकीमा हाइकिङ आउनेमध्ये वर्षेनी ५० देखि १०० जनासम्म मानिस हराउँछन् । गत श्रावणको पहिलो हप्ता मात्र २ पटक गरेर १७ जना हराएकाहरुको उद्दार गरिएको छ । अधिकांश खोजी र उद्दार कार्यमा मिश्रण तामाङ नेतृत्व गर्छन् । कतिपय खोजी कार्यमा उनी एक्लै पनि जान्छन्। मानिस हराएको खबर आएपछि प्रहरीले मिश्रण तामाङलाई खबर गर्छ । प्रहरीको समन्वय र मिश्रण तामाङको नेतृत्वमा हराएका मानिसको खोजी गरेर उद्दार गरिन्छ । तामाङबिना प्रहरीले हराएका मानिसको लोकेशन समेत पत्ता लगाउन सक्दैन । लोकेशन थाहा पाएपनि तामाङ प्रहरीलाई मात्र जंगल पस्न दिँदैनन् । जंगल छिरेपछि प्रहरी नै हराउने सम्भावना प्रबल हुन्छ । यसरी फुलचोकीमा हराएका मानिसलाई खोजेर उद्दार गर्ने मिश्रण तामाङ भने न त प्रहरी हुन् न त कुनै सरकारी निकायबाट उद्दार कार्यका लागि खटाइएका उद्दारकर्ता नै हुन् । 

को हुन् त फुलचोकीमा हराउनेहरुको उद्दारकर्ता, मिश्रण तामाङ  उर्फ दावा ?
काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका–७ घर भएका ४० वर्षीय मिश्रण तामाङ पेसाले ‘ड्राइभर’ हुन् । करिब २२ वर्षअघि परिवारसहित काभ्रेबाट आएर गोदावरी बस्दै आएका तामाङले कहिले आफैंले गाडी किनेर चलाए त कहिले अरुको गाडी चलाएर जिविकोपार्जन गर्दै आएका छन् । तामाङका बाआमा गाउँमै छन् । उनीसँग दुई छोरा र श्रीमती छन् । 

गोदावरी क्षेत्रमा बस्दै आएका तामाङ फुलचोकीको जंगलमा घुमिरहन्थे । जंगल र रुखहरुसँग प्रेम भएका तामाङ फुर्सद मिल्नासाथ जंगल छिर्थे । त्यो बेला जंगलमा लुटपाटका घटना धेरै हुन्थ्यो । हत्या गरेर फालिएका र मरेका मानिसका लास र कंकालसमेत जंगलमा फेला पर्थे । घुम्न गएका मानिस फर्किन नसकेर मरेका होलान् भन्ने कुराले उनलाई बिझाइरहन्थ्यो । 

२०७१ सालमा गोदावरीमा प्रहरी चौकी आयो । उनले हराएका मानिसको उद्दार गर्ने सोच बनाएँ । २०७२ सालमा उनले प्रहरीसँग समन्वय गरे । घुम्न गएका मानिस हराए भन्ने खबर प्रहरीमा आएपछि प्रहरीले तामाङलाई खबर गर्न थाले । तामाङ प्रहरीसँगै जंगल छिर्थे र हराएका मानिसको खोजी गर्थे । यसरी २०७२ सालदेखि सुरु गरेको उद्दार कार्य उनले अहिलेसम्म निरन्तर गरिरहेका छन् । 

तामाङले आफ्नो स्वइच्छाले सेवाको भावनाबाट सुरु गरेको कामबाट हालसम्म ८ सय बढी मानिसले नयाँ जीवन पाएका छन् । उनले उद्दार कार्य सुरु गरेको १० वर्षमा उद्दारकै लागि भनेर करिब ४  सय पटक जंगल छिरेका छन् । उनलाई कसैले खटाएको होइन् तर उनी जति बेला जहाँ जुनसुकै अवस्थामा पनि मानिस हराएको खबर पाएपछि खोजीका लागि निस्किन्छन् । र अहिलेसम्म मानिस हराएको खबर पाएपछि खोजी गर्दा खालि हात फर्किएको उनलाई थाहा छैन् । ‘म हराएको मानिस नभेटिएसम्म जंगल बाहिर आउँदिन । मैले अहिलेसम्म कसैलाई नभेटेको रेकर्ड छैन । र घाइते, बेहोस अवस्थामा भेटेपनि अप्रिय घटना भने भएको छैन्,’ तामाङ भन्छन्, ‘मेरो एक मुठ्ठि स्वास रहेसम्म म यो काम गरिरहन्छु।’

उनले पैसा, सम्मान, कसैको गुणगान पाउनका लागि भन्दा पनि आफ्नै सन्तुष्टिका लागि सेवा भावले काम गर्ने गरेको बताउँछन् । उनलाई कुनै हराएको मानिसलाई उद्दार गरेको दिन आनन्द लाग्छ । एउटा मानिसलाई नयाँ जीवन दिन पाएकोमा खुसी मिल्छ । त्यहि खुसीका लागि निरन्तर आफ्नो काम छोडेर पनि यसमा लागेको तामाङ बताउँछन् । उनी भन्छन्, ‘घना जंगलमा हराउँदा मानिसलाई कति डर हुन्छ । एउटा मानिसलाई त्यो डरबाट बाहिर ल्याउँदा, जंगलमा खान नपाएर, जनावरको आक्रमणबाट, घाइते अवस्थामा बेहोस भएर कति दिनपछि तड्पि तडिप हुने मृत्युबाट बचाउन पाउँदा मलाई अर्को जन्म दिएको महसुस हुन्छ । अरुले सोचुन् वा नसोचुन् मलाई यसैमा आनन्द लाग्छ ।’

तामाङले कसरी गर्छन् हराएका मानिसको खोजी ?
मानिस हराएपछि प्रहरीलाई आफूहरु हराएकोबारे जानकारी गराउँछन् । प्रहरीले यसबारे तामाङलाई जानकारी गराउँछ । तामाङ हराएका मानिसहरुको नम्बर लिन्छन् र आफैंले फोन गर्छन् । उनीहरु भएको ठाउँ कस्तो छ ? भनेर सोध्छन् । हराएका मानिसले उनीहरुको वरपरको अवस्था, रुखविरुवा, हिँडेको बाटोको बारेमा थोरै मात्र भनेपनि तामाङले ‘लोकेशन’ ठ्याक्कै थाहा पाउँछन् । बाटोबाट नजिकैको सजिलो लोकेशनमा रहेछ र आफू टाढा भएको अवस्थामा तामाङले आफूसँग हिँडिरहने प्रहरीलाई ‘लोकेशन’बारे बुझाउँछन् र प्रहरीलाई पठाउँछन् । तर भित्र जंगलमा भए उनले प्रहरीलाई मात्र जान दिँदैनन् । जहाँ जस्तो अवस्थामा भएपनि उनी आफैं आउँछन् । ठाउँ अनुसार, जनावरको आक्रमण हुन सक्ने क्षेत्र र समय अनुसार प्रहरी संख्या माग गर्छन् । टर्च लाइट, डोरी, खुकुरी, उनको आफ्नै वोकेटोके लगायतका सामाग्री उनका हतियार हुन् । आफ्ना सामान बोक्छन् र अघि लागेर जंगल छिर्छन् । प्रहरी हिँड्न नसकेको अवस्थामा कति पटक उनले प्रहरीलाई फर्काएर आफूमात्र जंगल छिरेका छन् । मानिस भीरमा अड्किएको अवस्थामा उनले डोरी बाँधेर पनि उद्दार गरेका छन् । हिँड्न नसक्ने अवस्थामा घाइते भएका, बेहोस् भएका मानिसलाई बोकेर त कहिले प्रहरीलाई बोकाएर उद्दार गर्छन् । 

हराएका मानिसले सम्पर्क गर्न नसकेको अवस्थामा परिवारबाट हाइकिङ गएको मानिस हराएको भन्ने खबर प्रहरीमा आउँछ । यस्तो अवस्थामा भने तामाङलाई जंगलको कुन ठाउँमा खोज्ने भन्ने समस्या हुन्छ । तर हराउने मानिससँग गएका अन्य मानिसले उ कहाँबाट हराएको हो, कहाँसम्म सँगै थियो भन्ने केही जानकारी दिएको आधारमा तामाङले खोजी कार्य गर्छन् । 

फुलचोकीको जंगलसँग तामाङको छुट्टै सम्बन्ध छ । उनले त्यहाँको एक एक रुख, एक एक माटो छोएका छन् । कहाँ पहिरो गएको छ, कहाँ रुख ढलेको छ, कहाँ कस्तो बाटो छ, झरना, खोल्सा, दह, भिरालो, समथर हरेक ठाउँ उनलाई एक एक याद छ । त्यसैले पनि उनलाई हराउने मानिसले आफू उभिएको वरपरको ठाउँको अवस्था मात्र बताए पनि यति ठूलो जंगलको कहाँ निर हो भन्ने कुरा ठ्याक्कै थाहा पाउँछन् । उनी अहिले पनि फुर्सद हुनासाथ जंगल छिर्छन् । दोहोर्याइ, तेहर्याइ जंगलको हरेक कुनामा पुग्छन् । यसरी पुगेपछि कोही हराउँदा ठाउँ पत्ता लगाउन सजिलो हुन्छ भन्ने उनको सोच छ । उनी जंगलको आफ्नै तरिकाले अध्ययन गर्छन् । नक्सांकन गर्छन् । चिन्ह लगाउँछन् । प्रहरीसँग समन्वय गरेर हराउने सम्भावित क्षेत्रहरुका रुखमा नम्बर समेत राखेका छन् । 

जंगलमा हराएको ७ दिनमा सकुशल उद्दार
कामको शिलशिलामा एक पटक तामाङ पोखरा थिए । उनलाई प्रहरीको फोन आयो । फुलचोकीको जंगलमा हाइकिङ गएका एक विद्यार्थी चार दिनदेखि बेपत्ता भएको खबर प्रहरीले सुनाए । तामाङ कामको मेसो मिलाएर बच्चा हराएको ६ दिनको दिन काठमडौं पुगे । हराएको बच्चासँग सम्पर्क हुने कुरा भएन् । कहाँ खोज्ने भन्ने समस्या थियो । उनले हराएको बच्चासँग गएका अन्यलाई उ कहाँदेखि छुटेको थियो ? कहाँसम्म सँगै थियो ? भन्ने सोधे । र हराएको सातौं दिन बिहानै बच्चा खोज्न निस्किए । फुलचोकीको डाँडादेखि खोज्दै तल झरे । उनी सँगसँगै प्रहरी हिँड्न नसकेपछि उनले प्रहरीलाई फर्काए र जंगलमा एक्लै छिरे । रातिको ९ बजिसकेको थियो । जंगल सुनसान थियो । उनले ‘सर्याकसुरुक’ आवाज आएको सुने । जंगली जनावर पनि हुन सक्थ्यो । तर उनी डराएनन् । आवाज आएतिर अगाडि बढे । उनले बेहोस् अवस्थामा बच्चा लडिरहेको भेटे । १४,१५ घण्टादेखि जंगलमा हिँडेका तामाङ बच्चा बोक्न सक्ने अवस्थामा थिएनन् । उनले प्रहरीलाई बोलाएर बच्चाको उद्दार गरे । जंगलभित्र ७ दिनदेखि हराएको बच्चा जिउँदो होला भनेर कसैले पनि सोचेका थिएनन् । बच्चा हराएको ४ दिनमा थाहा पाउँदा प्रहरीले जंगल छिर्ने आँटसम्म गरेको थिएन् । तर तामाङले बच्चा हराएको ७ दिनमा पनि सकुशल उद्दार गरे । यो घटना उनलाई विशेष लाग्छ । परिवारले समेत माया मारिसकेको बच्चालाई आफूले अर्को जन्म दिएको महसुस हुने उनी बताउँछन् । 

अहिलेसम्मकै ‘खत्रा’ उद्दार

२०७६ साल तिरको घटना हो । हाइकिङ गएका ४ जना मानिस हराएको खबर आयो । उनीहरु एउटा झरनाको बीचको दहमा फसेका रहेछन् । तामाङले लोकेशन त बल्ल बल्ल पत्ता लगाए तर उद्दार कार्य सजिलो थिएन् । ३२ फिटको झरनाको बीच अर्थात ११ फिटमा एउटा दह छ । उनीहरु झरनाबाट त्यहि दहमा झरेका रहेछन् । उनीहरु कोही पनि सकुशल अवस्थामा थिएनन् । सबै घाइते भएर चोटै चोट लागेको अवस्थामा थिए । त्यो दहमा ४ जना मात्र अटाउने ठाउँ छ । त्यहाँबाट पनि तल झरेका भए कोही पनि बाँच्ने सम्भवना नभएको तामाङ बताउँछन् । तामाङले उनीहरुलाई नडराइ, नआत्ति बस्न भने । झरनाको माथि रुखमा डोरी बाँधे र आफ्नो ज्यानमा पनि डोरी बाँधेर उनीहरु भएको ठाउँमा पुगे । उनले एक एक जनालाई डोरीको सहायताले उक्त दहबाट बाहिर निकालेर बचाए । साँझको ५ बजेदेखि खोजी कार्य सुरु गरेका तामाङले उनीहरुलाई उद्दार गरेर जंगल बाहिर ल्याउँदासम्म बिहानको ३ बजेको थियो । खोजी र उद्दार कार्यमा बिताएको १० वर्षको अवधिमा तामाङले ४ सय भन्दा बढी टोलीको उद्दार गरेका छन् । तर यो घटनाले उनलाई अझै पनि आङ सिरिङ्ग बनाउँछ । 

कहिले दशैंको टिका छोडे, कहिले दाहसंस्कारका लागि घाट लग्दै गरेको काकाको लास

२०७८ सालको दशैंको टिकाको दिन । तामाङका घरभरी भान्जाभान्जी, भतिजाभतिजी थिए । टिका मुछेर लगाउन साइत कुर्दै थिए । प्रहरीको फोन आयो । ६ जना केटीहरु जंगलमा हराएछन् । तामाङले केही पनि नसोची टिका मुछेको हात रुमालले पुछेर निस्किए । उनीहरुलाई उद्दार गरेर फर्किँदा रातिको १०,११ बजिसकेको थियो । त्यो दिन उनको घरमा आएका कसैले टिका लगाउन पाएनन् । उनी भन्छन्, ‘टीका त अर्को साल पनि आउँछ । म नगएको भए ६ जना युवतीहरुको के हुन्थ्यो ? मलाई चाडवर्प भन्दा ठूलो कसैको ज्यान हो भन्ने लाग्छ ।’

केही समय अघि तामाङको आफ्नै काकाको निधनको खबर आएपछि उनी गाउँ गए । उनी पुगेपछि काकालाई दाहसंस्कारका लागि घाट लैजाने तयारी हुँदै थियो । प्रहरीको फोन आयो, ३ जना हराए भन्ने खबरसहित । उनले परिवारलाई सम्झाए र काठमाडौं आए । हराएकाहरुको खोजि गरेर उद्दार गर्दासम्म रातिको ११ बजिसकेको थियो । काकाको दाहसंस्कार पनि सकिसकेको थियो । उनी उद्दार कार्य सकेर फेरि गाउँ नै फर्किए । उनी भन्छन्, ‘मर्ने त मरेर गैसके । केही गरे पनि, नगरेपनि बाँचेर आउने होइनन् । तर कोही बाँच्ने सम्भावना छ भने बचाउनु पर्छ भन्ने लाग्छ । म त मेरो बाउ नै मरेको अवस्थामा पनि कोही हराए भने खोज्न जान्छु ।’

एक पटक उद्दार गर्न जाँदा २ हजार बढीको घाटा
मिश्रण तामाङ उद्दार कार्यका लागि एक पटक जंगल छिर्दा २ हजार देखि २५ सय सम्मको घाटा लाग्ने गरेको बताउँछन् । मानिस खोज्न जाँदा सजिलो हुँदैन् । जंगलमा बाटो समेत आफैं बनाएर हिँड्नु पर्ने हुन्छ । एक पटक जंगल छिर्दा लगाएको कपडा, रेनकोट, जुत्ता अर्को पटक काम नलाग्ने अवस्थामा पुग्ने तामाङ बताउँछन् । उनी भन्छन्, ‘जंगल छिर्दा सामान्य जुत्ता लगाएर हुँदैन । सर्पको डर हुन्छ मोजा पनि बाक्लो र २ वटासम्म लगाउनु पर्छ । एक पटक उद्दार गरेर फर्किँदा लुगा, जुत्ता, रेनकोट धुजाधुजा हुन्छ ।’

उनले प्रहरीसँग समन्वय गर्नका लागि आफ्नै खर्चमा ओकेटोके किनेका छन् । टर्च लाइट र डोरीको व्यवस्थापन समेत आफैंले गरेका छन् । जति जाढा भए पनि मानिस हराएको सूचना पाउनासाथ आउँदा र जाँदा हुने खर्च समेत उनले आफैं व्यवस्थापन गर्छन् । 

मानिस नहराउन भन्ने उद्देश्यले उनले व्यक्तिगत रुपमा समेत बाटोमा बोर्डहरु राखेका छन् । आफूले नसकेको अवस्थामा विभिन्न व्यवसायीहरुसँग समेत आग्रह गरेर बोर्ड राख्न लगाएका छन् । हराएका मानिसले लोकेशन भन्दा आफूलाई खोज्न सहज होस् भनेर उनले प्रहरीसँगको समन्वयमा रुखमा नम्बर समेत लगाएका छन् । प्राय शनिवार मानिस धेरै हाइकिङ जाने भएकाले र आफ्नो पनि समय मिल्ने भएकाले उनी गोदाबरीमा बसेर माथि जाने सबैलाई सम्झाइबुझाइ गरेर समेत पठाउँछन् । 

फुलचोकीमा मानिस नहराउन भनेर र हराएमा उद्दार गर्ने क्रममा आफू स्वयम मात्र खटेका छैनन् । नदेखिने गरी व्यक्तिगत रुपमा उनको धेरै खर्च समेत हुने गरेको छ । उनलाई विभिन्न संघसंस्थाबाट हुने सम्मान कार्यक्रममा सम्मानस्वरुप केही नगद कहिलेकाँही आउँछ । तर व्यक्तिगत रुपमा कसैले पैसा, जिन्सी सामान दिए पनि उनी लिँदैनन् । 

उनी भन्छन्, ‘मलाई प्रहरीबाट एक पटक जुत्ता दिएको हो । बाँकी कसैबाट केही सहयोग छैन । व्यक्तिगत रुपमा दिने सहयोग त म आफैं पनि लिँदिन । मानिस हराउन नदिन भने नगरपालिका र वडाले पहल गरे हुने जस्तो लाग्छ । कतिपटक कुरा समेत गरेको छु । खास्सै चासो दिँदैनन्, जनप्रतिनिधि ।’ 


बिरामी छन् तामाङ, अप्रेसन अघि प्रहरीलाई जंगल छिर्न सक्ने बनाउने लक्ष्य

मिश्रण तामाङको देब्रे किड्नीमा समस्या छ । उनको किड्नी ‘ड्यामेज’ हुँदै गएको छ । औषधि गरिरहेका छन् । विस्तारै दुव्लाउँदै गएका तामाङलाई अब छोराहरुले समेत जंगल जाँदा गाली गर्न थालेका छन् । तामाङको यस अघि समेत पथरी र अल्सरको अप्रेसन भैसकेको छ । तर पनि उनले आजसम्म मानिस हराएको खबर आउँदा कुनै पनि घटनामा ‘आफू जान सक्दिन’ भनेर नगएको अवस्था छैन् । उनलाई अझै पनि आफू हिँड्न सक्दासम्म उद्दार कार्यमा जान्छु भन्ने लाग्छ । तर आफू हिँड्न नसकेको बेला, किड्नीको अप्रेसन गर्नुपर्ने भयो भने के गर्ने भन्ने उनले सोच बनाइसकेका छन् । उनले अहिले बाँडेगाउँ प्रहरी चौकीका २ जना र गोदाबरी चौकीका १ जना प्रहरीलाई जंगलको लोकेशन र खोजी कार्यबारे सिकाइरहेका छन् । आफू थला पर्नुअघि उनीहरुलाई जंगल छिर्न सक्ने बनाउने उनको उद्देश्य छ । दशैंको समयमा धेरै मानिस हाइकिङ जाने भएकाले दशैंभन्दा पछि मात्र आफ्नो अप्रेशन परोस् भन्ने समेत उनले कामना गरिरहेका छन् ।