नारायणघाट–बुटवल सडक विस्तारको म्याद एक वर्ष थपियो


नवलपुर । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको नारायणघाट–बुटवल सडक विस्तारको म्याद एक वर्षका लागि थप गरिएको छ ।
तेस्रोपटक थप गरिएको म्याद सकिँदा पनि ७० प्रतिशत मात्र काम पूरा भएपछि सरकारले विसं २०८३ साउन ७ गतेसम्मका लागि म्याद थप गरेको हो । यो चौथोपटक थपिएको म्याद अन्तिम हुने योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।
सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले भने थपिएको एक वर्षको समय अपर्याप्त भएको जनाएको छ । कम्पनीका ठेक्का सह–व्यवस्थापक राकेश झाले आफूहरूले काम पूरा गर्न १८ महिना माग गरेको भए पनि एक वर्ष मात्र दिइएको बताए ।
हाल पूर्वी खण्डमा दाउन्नेबाहेक सबै ठाउँमा कालोपत्रेको काम सकिएको छ। अहिले कम्पनीले दाउन्ने खण्डमा ढलान र अरुणखोला तथा गिरुवारी खोलामा पुल निर्माणमा केन्द्रित भएको जनाएको छ ।
कम्पनीका अनुसार, थपिएको समयभित्र फुटपाथ र सडकलाई सुन्दर बनाउने काम बाँकी रहन सक्छ । सन् २०७५ माघ २४ गतेबाट काम सुरु भएको यो सडकको कुल लागत करिब १७ अर्ब रुपैयाँ रहेको छ ।