तराई–मधेशमा देखिएको सिँचाइको समस्यालाई ‘द्रुत मार्ग’बाट समाधान गरिन्छ: नवनियुक्त महानिर्देशक बराल


काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारीमा नियुक्त गरेका मित्र बरालले तराईँकाे सिँचाइ समस्यालाई समाधान गर्न सकिने बताएका छन् ।
विभागको ३०औँ महानिर्देशकका रुपमा आइतबार पद बहाली गर्दै बरालले तराईँमा सिँचाइ सुविधा सडकलाई आधार मानेर पुर्याउन सकिने बताएका हुन् । नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इञ्जिनियरको रुपमा जागिरे जीवन सुरु गरेका बरालले जलस्रोत तथा सिँचाइ विभागमा २०५१ सालदेखि सेवा सुरु गरेका हुन् । विभाग मातहातका ठूला सिँचाइ आयोजनामा काम गरिसकेका बराल अनुभवी र विज्ञको रुपमा चिनिन्छन् । उनले यो क्षेत्रमा ३१ वर्ष बढीको अनुभव बटुलिसकेका छन् ।
पदबहाली गरेसँगै नवनियुक्त महानिर्देशक बरालले विभाग मातहातका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन समेत दिएका छन् । “हामीसँग पर्याप्त पूँजी छ, दक्ष छौँ, सूचना प्रविधि छ, यातायातको सुविधा छ, त्यसैगरी परियोजना छिटो सम्पन्न गर्ने हामीसँग अत्याधुनिक प्रविधि छ”, उनले भने, “यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्ने बाहेक कुनै बाहनाबाजीमा छुट हुने छैन ।”
बरालले राष्ट्रिय गौरबका आयोजनालाई सधैँभरी ‘आयोजनामै मात्रै सीमित’ नराखी यसको प्रतिफल उपभोग चाँडै गराउन समयमै कार्यसम्पादन पूरा गर्नुपर्नेमा जोडदिए ।
विभागको ३०औंँ महानिर्देशकका रुपमा आइतबार पद बहाली गर्दै उनले भने, 'तराई–मधेशमा सिँचाइ अभावले खेतीयोग्य जमिन बाँझै छन् । सिँचाइको समस्यालाई ‘द्रुत मार्ग’ र दीर्घकालीन गरी दुई चरणमा समाधान खोज्न सकिन्छ, यसका लागि विभाग तयार छ ।'
आर्थिक वर्ष सुरुआती महिनाको आधा समय गुज्रदासमेत विभाग मातहतका आयोजनाका दुईवटा मात्रै बोलपत्र आएको जनाउँदै उनले सर्वसम्पन्न भइसकेपछि अड्कलेर काम नगर्न कर्मचारीहरुलाई आग्रह गरे। हाल विभागमा ६०१ जनाको दरबन्दी रहेको छ ।