Ad Image

यातायात कार्यालय इलामले उठायाे लक्ष्यभन्दा बढी राजस्व

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/yatayat illam.jpg

इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । एक वर्षको अवधिमा रु १३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको कार्यालयले रु १३ करोड ८२ लाख तीन हजार पाँच सय १७ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिए ।

कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा रु दुई करोड ४९ लाख ४१ हजार आठ सय ३९ बढी राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २२ दशमलव ०२ प्रतिशतले वृद्धि हो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा रु ११ करोड ३२ लाख ६१ हजार छ सय ७८ मात्र राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले सवारी साधन वार्षिक करबाट रु नौ करोड ९६ लाख तीन हजार चार सय ४२ सङ्कलन गरेको छ । सवारी दर्ता/नामसारी/नवीकरणबाट रु ७२ लाख तीन हजार पाँच सय ५५ सङ्कलन गरेको छ । त्यस्तै, व्यवसाय रजिस्ट्रेशन दर्ता दस्तुरबाट रु एक लाख २८ हजार दुई सय सङ्कलन भएको कार्यालय प्रमुख मैनालीले जानकारी दिए। 

त्यस्तै आयकरबाट रु ३७ लाख ८५ हजार पाँच सय ९० सङ्कलन गरेको छ । कार्यालयले चालक अनुमतिपत्रबाट रु एक करोड ४३ लाख १७ हजार तीस सङ्कलन गरेको छ । त्यसैगरी नेपाल भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट रु एक करोड छ लाख १७ हजार तीस राजस्व सङ्कलन भएको छ । इलाम सदरमुकामस्थित कार्यालय र पशुपतिनगरबाट रुट पर्मिट र पटकेबाट रु एक करोड तीस लाख ७२ हजार दुई सय तीस राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । 

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा रु पाँच सय १० र मोटरसाइकलको रु दुई सय १० राजस्व लिने व्यवस्था गरेको थियो । यातायात व्यवस्था सेवा कार्यालयकै मातहतमा रहने गरी अघिल्लो वर्ष पशुपतिनगरमा राजस्व असुली केन्द्र स्थापना भएको थियो । 

यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीसमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख मैनालीले बताए ।