भदौबाट जनजागरण अभियान पुनः सुरु गर्ने माओवादीको निर्णय


काठमाडौं । नेकपा(माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आगामी भदौ तेस्रो साताबाट स्थगित भएको जनजागरण अभियानलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार, बैठकले विचारको स्वतन्त्रताको सम्मान गर्दै पार्टीको हितविपरीतका गुट र स्वार्थ समूहको अन्त्य गर्ने सामूहिक सङ्कल्प लिएको छ ।
दसैँपछि बस्ने केन्द्रीय कमिटीको बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति तय गरिने पनि निर्णय भएको छ ।
बैठकले सामाजिक–आर्थिक रूपान्तरण र सामाजिक न्यायसहितको समृद्धि आजको राष्ट्रिय कार्यभार भएको निष्कर्ष निकाल्दै पार्टीको एकता र पुनर्गठनको प्रक्रियालाई सशक्त बनाउने निर्णय गरेको छ ।
यसैगरी, नेकपा (विप्लव) लगायतका क्रान्तिकारी शक्तिहरूसँग एकताका लागि संवाद अघि बढाउने र समाजवादी मोर्चाको सुदृढीकरणमा पनि प्रयत्न गर्ने निर्णय भएको छ ।