दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरूद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमवार प्रसाईंलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि महान्यायाधिवक्ता कार्यालयले आदेश बदर गरी पुर्पक्षको लागि प्रसाईंलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्च जाने भएको हो ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर आफूहरु सर्वोच्च अदालत जाने बताए ।महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन समेत दिएको छ ।
प्रसाईंविरूद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको मुद्दा दायर भएको थियो। तर त्यसबारेमा प्रस्तुत गरिएका प्रमाणलाई उच्चले नजरअन्दाज गरी पुर्पक्षको लागि सामान्य धरौटीमा छाड्ने आदेश गरेको महान्यायाधिवक्ता कार्यालयको आरोप छ ।
गत चैत १५ मा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो ।
Facebook Comments