बाँकेका वडाध्यक्ष नक्कली परीक्षार्थी खडा गरेको अभियोगमा जाजरकोटमा पक्राउ


काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका–३ का वडाध्यक्ष निखिल बैगारलाई प्रहरीले पक्राउ गरेको छ । १२ कक्षाको परीक्षामा आफ्नो सट्टा नक्कली विद्यार्थी खडा गरेर परीक्षा दिन लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
शिक्षा ऐनसम्बन्धी कसुर (सट्टा परीक्षा) मुद्दामा फरार रहेका वडाध्यक्ष बैगारलाई साउन २१ गते उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार वडाध्यक्ष बैगारले आफ्नो १२ कक्षाको सम्पूर्ण विषयको परीक्षा अन्य व्यक्तिलाई दिन लगाएका थिए । सोही मुद्दामा अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् ।
जिल्ला अदालत जाजरकोटले गत असार ३२ गते पक्राउ गर्न अनुमति दिएपछि इलाका प्रहरी कार्यालय कोहलपुरको सहयोगमा उनलाई गत बुधबार (साउन २१ गते) पक्राउ गरिएको थियो । वडाध्यक्ष बैगारमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।
कक्षा १२ को परीक्षामा आफ्नो सट्टा नक्कली परीक्षार्थी राखेको आरोपमा पक्राउ परेका वडाध्यक्ष बैगारको बचाउमा नेपाली कांग्रेसको बैजनाथ गाउँपालिका कार्य समिति उत्रिएको छ । कानुनी प्रक्रियाअनुसार प्रहरीले वडाध्यक्षलाई नियन्त्रणमा लिएको समाचार प्रकाशित भएपछि कांग्रेसले असन्तुष्टि व्यक्त गरेको हो ।
जनताबाट निर्वाचित जनप्रतिनिधिले गैरकानुनी कार्य गरेको आरोपमा पक्राउ परे पनि कांग्रेस गाउँ कार्य समिति भने आफ्नो लाज ढाक्न गर्न अग्रसर देखिएको छ । प्रहरीले ‘सट्टा परीक्षा’को अभियोगमा वडाध्यक्षमाथि अनुसन्धान गरिरहँदा कांग्रेसले कानुनी निकायको कारबाहीमाथि नै प्रश्न उठाएको देखिन्छ ।
‘सट्टा परीक्षा’को आरोपमा पक्राउ परेका वडाध्यक्षको बचाउ गर्दै कांग्रेस जिम्मेवारीबाट पन्छिन खोजिरहेको छ । जबाफदेही हुनुपर्ने कांग्रेसले उल्टै सञ्चारमाध्यममाथि नै अफवाह फैलाएको आरोप लगाएको छ ।
Facebook Comments