राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न सांसदहरूको माग


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारसँग माग गरेका छन् । सिँचाइका ठूला आयोजनाहरूमा ढिलाइ हुँदा सुख्खा क्षेत्रका नागरिकले समस्या भोग्नुपरेको उनीहरूको गुनासो थियो ।
सांसद युवराज शर्माले विशेष समयमा बोल्दै मधेशलाई सुख्खाग्रस्त क्षेत्र बन्नबाट जोगाउन चुरे क्षेत्रबाट ढुङ्गा र गिट्टीको निकासी रोक्नुपर्नेमा जोड दिए । उनले कानुनी शासनको प्रत्याभूति र सरकारी निकायमा खर्च कटौतीको प्रस्तावलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि माग गरे ।
सांसद मायाप्रसाद शर्मा र मोहम्मद खालिदले भारतको उत्तराखण्डमा आएको बाढीमा परेर बेपत्ता भएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए । साउन २० गतेको बाढीमा २२ नेपाली सम्पर्कविहीन भएका र उनीहरूमा जाजरकोट, बर्दिया र धादिङका नागरिक रहेको उनीहरूले बताए ।
सांसद शर्माले निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ प्रति आपत्ति जनाउँदै दलहरूको मूल्याङ्कन जनताले निर्वाचनबाट गर्ने तर्क राखे । उनले निजामती सेवा विधेयक पनि छिटोभन्दा छिटो अगाडि बढाउन माग गरे ।
Facebook Comments