दशौं राष्ट्रिय खेलकुदको मिति चाँडै घोषणा हुन्छ : खेलकुदमन्त्री चौधरी


पाँचथर । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा गरिने बताएका छन् ।
पाँचथरको फिदिममा आयोजित पत्रकार सम्मेलनमा उनले अब परिवर्तन नहुने गरी मिति तय गरिने जानकारी दिएका हुन् ।
सुर्खेतमा आयोजना हुने प्रतियोगिताको तयारीका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसहित सबै सरोकारवालासँग छलफल भइरहेको उनले बताए ।
प्रतियोगिताको मुख्य जिम्मेवारी प्रदेश सरकारकै भएकोले यसमा प्रधानमन्त्रीको पनि चासो रहेको उनले उल्लेख गरे ।
यसैगरी, मन्त्री चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल)को वित्तीय, प्राविधिक र व्यवस्थापकीय पक्षको छानबिन गर्न एक समिति गठन गरिने पनि जानकारी दिए ।
उनले खेलकुदका संरचना निर्माणका लागि जग्गा र बजेटको अभाव रहेको स्वीकार गर्दै आगामी दिनमा स्थानीय तहले पनि जग्गाको प्रबन्ध गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले मन्त्रालयले प्रदेश र स्थानीय तहमा खेलकुदका कर्मचारी पठाउने तयारी गरेको र यसका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण भदौभित्र सम्पन्न हुने बताए ।
मन्त्री चौधरीले अलपत्र परेको फिदिम रङ्गशाला निर्माणका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसलाई बहुवर्षीय ठेक्कामा रुपान्तरण गर्ने आश्वासन दिए ।
१० करोड ६३ लाखको लागतमा ठेक्का पाएको यो रङ्गशालाको हालसम्म जम्मा ३१.७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
Facebook Comments