सुरक्षाको प्रबन्ध मिलाउन सरकारसँग त्रिभुवन विश्वविद्यालयको माग

User Image मेयरसाप डेस्क | ५ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/tu.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सरकारसँग सुरक्षा व्यवस्था मिलाइदिन माग गरेको छ । विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिविले सुरक्षाको प्रबन्ध गर्न सरकारसँग माग गरेको हो ।

सुरक्षा व्यवस्था मिलाउन माग गर्दै त्रिविले जिल्ला प्रशासन कार्यालयमा पत्र समेत पठाएको छ । त्रिविले गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तलाई पनि सुरक्षाको प्रबन्ध मिलाइदिन आग्रह गरेको छ । 

२० दिनदेखि मओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको कार्यकक्षमा धर्ना दिइरहेको छ । चार वटा सेल्फ सस्टेन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभेर पनि शुल्क नघटाइएको भन्दै उनीहरु धर्ना बसेका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । तर शुल्क भने पुरानै शैलीमा उठाएकाले घटाउन माग गर्दै विद्यार्थीले धर्ना दिएका हुन् ।विद्यार्थी लामो समयदेखि धर्नामा बसेपनि त्रिवि पदाधिकारीले वार्तामा बोलाएका छैनन् । 

सोमवार उनीहरुले रजिस्ट्रार कार्यालय र रेक्टर कार्यालय तोडफोड समेत गरेका थिए। सो क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थीहरु घाइते भएका थिए ।

 


Facebook Comments