ढुङ्गेअड्डामा आधुनिक ‘स्मार्ट’ शौचालय सञ्चालनमा, स्नान र स्तनपान कक्षकाे सुविधा


काठमाडौं । सार्वजनिक शौचालयको परम्परागत अवधारणालाई परिवर्तन गर्दै कलङ्की–नागढुङ्गा राजमार्गको चन्द्रागिरि–१५, ढुङ्गेअड्डामा एक अत्याधुनिक ‘स्मार्ट’ सार्वजनिक शौचालय सञ्चालनमा आएको छ ।
उपत्यका बाहिरिने र भित्रिने यात्रुको बाक्लो भीड हुने यस क्षेत्रमा शौचालयको अभावले यात्रुलाई समस्या भइरहेको थियो ।
करीब एक करोड रुपैयाँको लागतमा दुई आना जमिनमा बनेको यो शौचालयमा फरक क्षमता भएका व्यक्ति (अपाङ्गता)का लागि विशेष व्यवस्था, स्नानकक्ष, स्तनपान कक्ष र स्यानिटरी प्याड तथा डाइपर फेर्ने सुविधासमेत उपलब्ध छ ।
चन्द्रागिरि नगरपालिकाको सहकार्य र एरोसान सस्टेनेवल स्यानिटेशनको लगानीमा निर्माण भएको यो शौचालयमा रोग सङ्क्रमण कम गर्न स्वचालित फ्लस, बत्ती, साबुन र धाराको व्यवस्था छ ।
साथै, शौचालयलाई वातावरणमैत्री बनाउन बायोग्यास प्लान्ट र आकाशेपानी सङ्कलन गर्ने योजना पनि रहेको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले यस्तै अन्य तीन स्थानमा पनि ‘स्मार्ट’ शौचालय बनाइने जानकारी दिए ।
एरोसान सस्टेनेवल स्यानिटेशनले यसअघि काठमाडौं र ललितपुर महानगरपालिकामा पनि यस्तै नौवटा ‘स्मार्ट’ शौचालय निर्माण तथा सञ्चालन गरिसकेको छ ।
Facebook Comments