पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरियाबीच समझदारी

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pokhara.jpg

गण्डकी । पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरियाबीच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयकोतर्फबाट प्राध्यापक चोइ जेइयोङले आज समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 
 
समझदारीअनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबीच अन्तरराष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइनेछ । शिक्षा, पर्यटन र प्रविधिका क्षेत्रमा अन्तरराष्ट्रिय सहयोगलाई समर्थन गर्न मानव संसाधन तथा सूचना आदानप्रदान, महानगरपालिका र युङजिनबीच अनुकूल शैक्षिक कार्यक्रमहरू, भ्रमण र भर्चुअल शिक्षामा साझेदारी गरिने महानगरपालिकाले जनाएको छ ।
 
सहरी विकास, पर्यटन र दिगो अभ्यासलगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनामा सहकार्य गरिने समझदारीपत्रमा भनिएको छ । महानगर प्रमुख आचार्यले दुईपक्षीय समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे । 
 
प्राविधिक शिक्षाका सन्दर्भमा विश्वविद्यालयसँगको समझदारीले विद्यार्थीको अन्तरराष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्ने भएकाले यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने उनले बताए । उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अध्ययताहरूलाई समेत यसले महत्वपूर्ण सहयोग पुग्ने उनले बताए । 
 
पोखरा महानगरपालिकासँगको सहकार्यमा आफूहरू यहाँको शैक्षिक विकासका लागि हातेमालो गर्न तत्पर रहेको विश्वविद्यालयका प्राध्यापक चोइ जेइयोङले बताए । विशेषगरी प्राविधिक शिक्षा, मानवसंशाधन र पारस्परिक लाभका विषयहरूमा पोखरा महानगरसँग आफूहरू नजिकबाट काम गर्न चाहिरहेको उनको भनाइ छ । यसअघि पनि कोरियन सरकार र एजेन्सीजहरूको सहयोगमा पोखरामा विभिन्न परियोजना सञ्चालनमा छन् । 

Facebook Comments