पर्साका बालसुधार गृहका किशोरलाई आय आर्जन बढाउन तालिम

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sudhar-griha-parsa.png

पर्सा । बालबिज्याँई गरेर पर्साको बालसुधारगृहमा रहेका किशोरहरुलाई एक हप्ताको मैनबत्ती दिने तालिम दिएर उद्यमशीलतातर्फ अघि बढाइएको छ । पहिलो चरणमा बालसुधार गृहमा रहेका १५ जना किशोरलाई मैनबत्ती बनाउने तालिम दिएर उद्यमशीलतातर्फ बढाउने काम गरिएको हो । 

बालसुधार गृहमा बस्दै आएका एक किशोरले तालिमले आफूहरुलाई थोरै भए पनि आम्दानीको बाटो खोज्न मद्दत पुगेको बताए । ‘‘यहाँ दिनभर खाली भएर बस्नुपर्ने हुन्थ्यो,’’ ती किशोरले भने, ‘‘एक सातामा हामीले मैनबत्ती बनाउने सीप सिक्ने मौका पायौं। यसले कम्तीमा पनि केही गरेर खाने सीपको विकास भएको छ ।’’ 

मैनबत्ती तालिमका प्रशिक्षक विपन उपाध्यायले बालसुधार गृहमा रहेका किशोरहरुले मैनबत्ती बनाउने कार्यमा निकै कुशलतापूर्वक सीप सिकेको बताए ।  ‘हामीले सोचेको भन्दा धेरै राम्रो ढङ्गले बालसुधार गृहका किशोरहरुले मैनबत्ती बनाउनुभएको छ,’’ उनले भने, ‘‘यस्ता खालका सीपले बालसुधारगृहभित्र वा बाहिर रहँदा पनि आम्दानीको स्रोत बढाउन मद्दत पु¥याउनेछ ।’’  यहाँका किशोरहरुले विभिन्न थरिका मैनबत्ती तयार पारेका छन् । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीपमूलुक तालिमले बालसुधारगृहमा बसोबास गर्दै आइरहेका किशोरहरुलाई उद्यमशीलतातर्फ लम्किन सहयोगी भूमिका निर्वाह गर्ने बताए । ‘‘बालसुधारगृहमा रहँदा नैराशयता भएर बस्ने होइन् । केही न केही रचनात्मक कार्य गरेर बस्न जरुरी हुन्छ,’’ उनले भने, ‘‘मैनबत्तीको उज्यालो जस्तै तपाईहरुको जीवनमासमेत उज्यालो छिट्टै आउनेछ । त्यसैले उज्जवल भविष्यको आशा लिएर अघि बढ्नका लागि अनुरोध गर्दछौंँ ।’’ सानो पाइला र जिल्ला बाल न्यायिक समितिको संयोजनमा किशोरहरुको लागि मैनबत्ती बनाउने तालिम दिइएको थियो । 

जिल्ला बाल न्यायिक समितिका सदस्य सुष्मा शर्माले  सानो पाइला संस्थामार्फत बालसुधारगृहमा रहेका बालबालिकामार्फत व्यावसायिक ढङ्गले मैनबत्ती बनाउने कार्य अघि बढाइने बताए । ‘‘मैनबत्तीको लागि आवश्यक पर्ने सम्पूर्ण कच्चापदार्थ र बजारीकरणको काम सानो पाइला संस्थामार्फत अघि बढाउनेछौँ ।’’

उनले भने, ‘‘मैनबत्ती उत्पादनबाट हुने ४० प्रतिशत आम्दानी बालसुधारगृहका किशोरलाई र ६० प्रतिशत संस्थालाई जाने गरी उद्यमशीलताको विकास गर्न खोजेका छौँं ।’’सो तालिमको प्राविधिक सहयोग क्वेष्ट फर्मासिटिक्लसको सहयोग रहेको थियो । बालसुधारगृह पर्साका निमित्त प्रमुख कृष्णप्रसाद साहले बालसुधार गृहमा अहिले एक सय ३७ जना किशोर रहेको जानकारी दिए ।


Facebook Comments