घरको झ्यालबाटै देखिन्छ टेलिकमको टावर, फोन गर्न भने रुखै चढ्नुपर्ने

बझाङ । आँखै अघि नेपाल टेलिकमका टावरहरु छर्लङ्ग देखिन्छ । तर मोबाईलमा नेटवर्क खोज्नका लागि अग्लो अग्लो डाँडाकाँडा, घरको पाखोमा (छत), घर भन्दा बाहिर, अग्ला अग्ला रुख चढ्नु पर्ने बाध्यता भने अहिलेसम्म टरेको छैन ।
केही पालिकाहरुमा आकाशमा घाम हुँदासम्म मात्रै नेटवर्कले काम गर्छ । सुर्य अस्ताएपछि नेटवर्क पनि अस्ताउँछ । विषेश गरी विकट मानिएको साईपाल गाउँपालिकामा बासिन्दाहरुले यसको मार खेप्नु परेको छ । यता साईपाल गाउँपालिका संगै जोडिएको तलकोट गाउँपालिकाका केही वडाबासिन्दाले पनि यो समस्या झेल्दै आएका छन् ।
३–४ दिनको पैदल यात्रा गरेर गाउँपालिकासम्म पुग्नु पर्ने बाध्यात्मक परिस्थिती रहेको धुली , काँडा, न्युन्नाका स्थानीय बासिन्दाले हरेक वर्ष यस समस्याको सामना गर्दै आउनु परेको छ । साईपाल गाउँपालिकाका स्थानीय बासिन्दा राम बहादुर बोहराले आफूहरुले सँधै भरी टेलिकमको टावरले काम नगर्दा नेटवर्कको समस्या झेल्दै आएको बताए । उनले गाउँमा केही घटना भएको खण्डमा टेलिकमको नेटवर्कले काम नगर्दा मानिसहरुलाई नै खबर गर्नका लागि पठाउनु पर्ने बाध्यात्मक परिस्थिति आउने गरेको बताए । कोही बिरामी भएर उपचारका लागि स्वास्थ्यकर्मी तथा बिरामीलाई गाउँबाट बाहिर लैजानु पर्ने परिस्थिति आएको खण्डमा स्थानीय बासिन्दाहरुलाई बोलाउन र स्वास्थ्यकर्मीलाई बोलाउनु परेको खण्डमा मानिसलाई खबरी पठाउनु पर्ने १५ सताब्दीको जस्तो साईपाल गाउँपालिका बासिन्दाहरुले जीवन चक्र चलिरहेको छ । यस विषयमा स्थानीय सरकारले मात्र नभएर प्रदेश र संघीय सरकार पनि कानमा तेल हालेर बसेको उनीहरुको आरोप छ ।
यता साईपाल गाउँपालिका धलौनका समाजसेवी तथा युवा नेता घुरन बहादुर बोहराले मोबाईलमा नेटवर्क नहुँदा यहाँका नागरिकहरुले हजाराैँ समस्याको सामाना गर्नु परेको बताए । उनले भने,“साईपाल गाउँपालिकाबाट चैनपुर र चैनपुरबाट साईपाल गाउँपालिका ओहोर दोहोर गर्नका लागी ३–४ दिनको पैदल यात्रा गर्नु पर्छ । पैदल यात्रा गर्दा सबै जंगल नै जंगलको बाटो भएर जानु पर्छ । यदी बिच बाटोमा कसैलाई केही समस्या भएको खण्डमा खबर गर्न वा संचार गर्नका लागि मानिसलाई नै कुदाउनु पर्ने हुन्छ । विच बाटोमा जंगली जनावरको पनि उस्तै डर हुन्छ । सामान्य पानी पर्दा, हावाहुरी चल्दा र आकाश बादल लाग्दा नेटवर्क पनि हराउँछ ।’
उनले थपे, ‘यही नेटवर्ककै समस्याका कारण गाउँपालिकाले सदरमुकाम चैनपुरबाट नै सेवा प्रवाह गर्नु परेको छ । स्थानीय सरकारसंग बजेट निश्चित हुने, पालिकाको आफ्नै छुट्टै आय स्रोत नभएका कारणले यी समस्याहरुको समाधान अहिलेसम्म गर्न सकेको छैन । यस विषयमा प्रदेश सरकार र संघिय सरकारले चासो दिँदैन । २१ औँ सताब्दीका कुरा हामी गरेको देख्न र सुन्न पाउँछौं । तर साईपाल गाउँपालिका १५ औँ सताब्दीमा नै छ जस्तो लाग्छ ।’
यस विषयमा प्रदेश र संघिय सरकारले ध्यान दिएर सामान्यतया, टेलीफोन सेवा, सडक, विद्युत खानेपानी आदी समस्याहरुको समाधान गर्नु पर्ने उनले बताए । यसका लागि संघ र प्रदेशमा पहुँच हुन जरुरी रहेको बोहराले बताए ।
यो समस्या एउटै साईपाल गाउँपालिकाको र तलकोट गाउँपालिकाको मात्रै नभएर जिल्लामा रहेका अधिकांश स्थानीय तहहरुको समस्या हो । सामान्यतया कोही गाउँको व्यक्ति बिरामी पर्यो भने फोन मार्फत स्वास्थ्यकर्मी तथा सवारी चालकलाई खबर गर्नु परेको खण्डमा २–३ जनाले स्वास्थ्यकर्मी र गाडी चालकलाई खबर गर्न गाउँबाट अर्को गाउँ जानुपर्ने अवस्था छ । एक कल फोनका लागि अग्ला अग्ला डाँडाहरुमा जानुपर्ने बाध्यता छ । यो अवस्था खप्तडछान्ना गाउँपालिकाका केही वडामा समेत रहेको छ ।
भन्दा ठूलो टेलिकमको टावर थलारा गाउँपालिका र खप्तडछान्ना गाउँपालिकाको सिमाना बाँताको लेकमा जडान गरिएको छ । यस्तै खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ६ र ७ को सिमाना मष्टा माण्डौमा समेत टेलिकमले टावर जडान गरिएको छ । यस्तै वडा नम्बर ४ को चौका माथि नेटाकाटियामा समेत टेलिकमको टावर देख्न सकिन्छ । यता साईपाल गाउँपालिकाको काँडा र धलौनको बीचमा रहेको नाग्नाको डाँडामा समेत टेलिकमको टावर देख्न सकिन्छ । तर यहाँका स्थानीय बासिन्दाले भने मोबाईलमा नेटवर्क नआएका कारण निकै कष्ट खेप्नु परेको स्थानीय समाजसेवि मेखराज रावलले बताए । उनले भने‘ गाउँबाट र घरको झ्यालबाट समेत सबै टावर देख्न सकिन्छ तर मोबाईलमा नेटवर्कले भने काम गर्दैन ।’
अत्यावश्यक अवस्थामा समेत छिटो खबर आदन प्रदान गर्न नपाउँदा बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ की वडा अध्यक्ष गौरी अधिकारीले बताइन् ।
उनले भनिन् ‘यो विषयमा हामीले नेपाल टेलिकम दुरसंचार कार्यालय बझाङ, दुरसंचार क्षेत्रीय कार्यालय हुँदै केन्द्रीय कार्यलयसम्म पत्राचार गरी सकेका छौं । तर टेलिकमले चासो दिएको छैन । अब फेरी अर्को ठाउँमा टावर जडान गर्ने भन्ने कुरा सुनेकी छु । कहिले सर्भे गर्ने हुन् ? जानकारीसम्म पछैन ।’
यो समस्या सबै भन्दा बढी जिल्लाको विकट साईपाल गाउँपालिका वडा नम्बर ४ को धुलीमा छ । नेपाल टेलिकमले वडा नम्बर १ र २ को नाङ्नाको डाँडामा टावर जडान गरेको छ । तर सामान्यतया आकाशमा बादल लाग्दा, पानी पर्दा र हिमपात हुँदा नेटवर्कबाट सम्बन्ध विच्छेद हुने गरेको छ । यहाँका नागरिकहरुले समेत नेटवर्कले काम नगर्दा हजारांै समस्या झेल्दै आउनु परेको साईपाल गाउँपालिका पूर्व अध्यक्ष राजेन्द्र बहादुर धामीले बताए ।
यता साईपाल गाउँपालिकाका अध्यक्ष मान बहादुर बोहराले यो समस्या समाधानका लागि नेपाल टेलीकम बझाङ, क्षेत्रिय कार्यालय र संघिय कार्यालयमा समेत पटक पटक पत्राचार र डेलिकेसन गरेको बताए । तर पनि उक्त समस्याको हल भने अहिलेसम्म हुन नसकेको उनको भनाई छ ।
यस्तै खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाले यस विषयमा पालिकाले दुरसंचार कार्यालय नेपाल टेलिकमका कार्यालय जिल्ला, प्रदेश र केन्द्रिय कार्यलयसम्म पत्राचार देखि समस्याका बारेमा पटक पटक जानकारी गराएको बताए । कार्यालयबाट समेत केही दिनमा प्राविधिक पठाएर उक्त टावरहरु पुन संचालन गर्ने आश्वसन पाए पनि काम भने नभएको बताए । पालिकाले यसमा पहल मात्रै गर्ने भएका कारण प्राविधिक कुरा पालिकालाई जानकारी नभएको रोकायाको भनाई छ ।
यता नेपाल टेलिकम दुरसंचार कार्यालय बझाङका कार्यालय प्रमुख बम बहादुर सिंहले सबै टेलिकमका टावरहरुमा विद्युत आपुर्ति हुन नसकेका कारण यस्तो समस्या आउने गरेको बताए । उनले भने ‘धेरै जस्तो जडान गरेका टावरहरुमा विद्युत आपुर्ती तथा ब्याट्रीको समस्या छ । अन्य प्राविधिक समस्याका कारण नेटवर्कले काम नगर्ने र काम गरेको ठाउँमा पनि राम्रो संग काम नगरेको हो।’
बझाङ जिल्ला भरी अहिलेसम्म नेपाल टेलिकमले २६ वटा टावरहरु जडान गरेको बताउदै सिंहले भने, ‘साईपाल गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, तलकोट गाउँपालिका तथा अन्य पालिकाहरुमा नेटवर्क नहुनुको मुख्य कारण विद्युत हो । बर्खाको समयमा घाम नलाग्ने र घामको विकल्पमा विद्युत सेवा जडान गरिएको टावरहरुमा पुग्न नसकेका कारण नागरिकहरुले नेटवर्कको समस्या झेल्नु परेको छ ।’
उनले यसका लागि जिल्ला कार्यालयले क्षेत्रीय कार्यालयमा समस्याका बारेमा र पुन मर्मत सम्भारका विषयमा पत्राचार गर्दै आएको र पटकपटक यस विषयमा जानकारी गराउँदै आएको बताए । हाल जिल्ला भरी खप्तडछान्ना गाउँपालिकाका टेलिकमका टावरमा मात्रै समस्या नभई साईपाल गाउँपालिका, बुंगल नगरपालिकामा जडान गरिएका टावरमा समस्या देखा परेको गुनासो कार्यालयमा आएको बताए । उनले हाल जिल्ला भरी २६ वटा टावर संचालनमा रहेको र ३ वटा टावर निर्माणधीन अवस्थामा रहेका र ८ वटा सर्भे भएको समेत जानकारी दिए । यस आर्थिक वर्षमा जयपृथ्वी नगरपालिकाको कैलास पिमी र माझेशैन, खप्तडछान्नाको नुवाकोट, केदारस्युँको लोतु र छविसपाथिभेराको ब्यासीमा टावर जानड गरिने बताए । यसै आर्थिक वर्षमा साईपाल गाउँपालिकाको वडा नम्बर ३ , ४ र ५ का लागि पायक पर्ने स्थान बाँझ चौकाको आसपासमा टावरका लागि सर्भे हुने र पछि टेलीकमले टावर जडान गर्ने बताए ।
Facebook Comments