मुम्बईमा तीन दिनदेखि भारी वर्षा, यातायात र जनजीवन प्रभावित

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mimbai pani.jpg

नयाँ दिल्ली । भारतको मुम्बईमा लगातार तीन दिनदेखि जारी भारी वर्षाले जनजीवन नराम्ररी प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

वर्षाका कारण मुम्बईका सबै विद्यालय, कलेज र सरकारी कार्यालयहरू बन्द गरिएका छन् । यसैगरी, ३४ वटा रेल र २५० भन्दा बढी उडानहरू रद्द वा प्रभावित भएका छन् ।

मुम्बईमा बाढीका कारण मोनोरेल सेवा पनि अवरुद्ध भएको छ । मंगलबार साँझ मैसूर कोलोनी रेलवे स्टेशन नजिकै एउटा मोनोरेल ट्र्याकमा अड्किएपछि क्रेनको सहायताले करिब ५८२ यात्रुको उद्धार गरिएको थियो ।

अत्यधिक यात्रु भारका कारण मोनोरेल अड्किएको अधिकारीहरूले बताएका छन् । अन्य दुई स्टेशनबाट पनि करिब २०० जनाको उद्धार गरिएको छ ।

यसैबीच, उत्तर प्रदेशमा पनि बाढीको प्रकोप बढेको छ । फर्रुखाबादमा गंगा र रामगंगा नदीमा पानीको सतह खतराको चिन्हभन्दा माथि पुगेको छ, जसका कारण १०० भन्दा बढी गाउँ डुबानमा परेका छन् ।

कानपुरमा गंगा नदीको पानी पनि खतराको स्तरभन्दा ११ सेन्टिमिटर मात्र तल रहेको र पाँचवटा गाउँमा बाढीको पानी पसेको छ ।


Facebook Comments