लिपुलेक पास हुँदै भारत र चीनबीच व्यापार सुरु गर्ने सहमति


काठमाडौं । भारत र चीनबीचको उच्चस्तरीय वार्तामा लिपुलेक पास हुँदै सीमा व्यापार पुनः सुरु गर्ने सहमति भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच नयाँ दिल्लीमा भएको भेटवार्ताका क्रममा यो निर्णय भएको हो ।
विगतमा गलवान उपत्यकामा भएको झडपपछि दुई देशबीच सम्बन्धमा आएको तनाव कम गर्ने प्रयासस्वरूप भएको यस वार्तामा १२ बुँदे सहमति भएको छ । सहमतिपत्रको नवौं बुँदाअनुसार, दुवै देशले लिपुलेक पास, शिप्कीला पास र नाथुला पास गरी तीन नाकाबाट सीमानापार व्यापार सुरु गर्नेछन् ।
यसअघि सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा पनि लिपुलेक पासबाट व्यापार गर्ने सहमति भएको थियो । त्यतिबेला नेपालको सार्वभौम भूमिमा नेपाललाई जानकारी नदिई गरिएको सो सहमतिलाई लिएर नेपालमा व्यापक विरोध भएको थियो ।
Facebook Comments