प्रहरीका सिपाही र हवलदारलाई ‘तल्लो दर्जा’ नभन्न गृहमन्त्रीको निर्देशन


काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीका सिपाही र हवलदारलाई ‘तल्लो दर्जा’ नभन्न निर्देशन दिएका छन् । नक्सालमा आयोजित प्रथम महिला प्रहरी सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘यो संगठन त्यही दर्जामा उभिएको छ ।’
लेखकले प्रहरी विधेयकमा ‘तल्लो दर्जा’ को सट्टा ‘आधारभूत दर्जा’ भन्ने शब्दावली प्रयोग गरिने बताए । साथै, उनले प्रहरीले १४ घण्टासम्म उभिएर काम गर्ने हुँदा उनीहरूलाई ’आधारभूत दर्जाका कर्मचारी’ भन्नुपर्नेमा जोड दिए ।
उनका अनुसार, प्रहरी विधेयकमा आधारभूत दर्जाका प्रहरीलाई १६ वर्षमा नै निवृत्तिभरण (पेन्सन) दिने प्रस्ताव गरिएको छ र यो व्यवस्था कानुनमा ल्याइनेछ । गृहमन्त्री लेखकले स्थापनाको ७४ वर्षपछि पहिलो पटक महिला प्रहरी सम्मेलन आयोजना गरेर प्रहरीले इतिहास रचेको भन्दै प्रशंसा गरे ।
नेपाल प्रहरीमा हाल १२ प्रतिशत महिला कर्मचारी रहेको र दोस्रो जनआन्दोलनपछि महिलाको संख्या बढेको उनको दाबी छ । उनले महिला प्रहरीको क्षमता वृद्धिमा ध्यान दिनुपर्ने र उनीहरूलाई समानता, सशक्तीकरण र सम्भावनाको खोजी गर्न आवश्यक रहेको बताए ।
Facebook Comments