भ्रष्टाचार मुद्दामा पूर्व कार्यकारी निर्देशक पौडेललाई धरौटीमा रिहा गर्न आदेश


काठमाडौं । पौने १६ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २७ गते पौडेलसहित ६ जना र एक कम्पनीविरुद्ध ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिदमा गुणस्तरहीन सामग्री आपूर्ति गरी राज्यलाई १५ करोड ८८ लाख ५० हजार रुपैयाँ नोक्सान पुर्याएको आरोपमा मुद्दा दायर गरेको थियो ।
अदालतमा हाजिर भएका पौडेलको बयान तथा थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार यस्तो आदेश दिएको हो ।
अख्तियारको अनुसन्धानबाट बोलपत्रमा उल्लेख गरिएको २.४ गिगाहर्जको प्रोसेसरको सट्टा २.१ गिगाहर्जको कम क्षमताको प्रोसेसर जडान गरिएको पाइएको थियो । यसमा तत्कालीन निर्देशक पौडेलसहित अन्य कर्मचारी र आपूर्तिकर्ता कम्पनी वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालिको मिलेमतो रहेको अख्तियारको दाबी छ ।
Facebook Comments