दिक्तेलमा बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती


खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामाजिक सुरक्षाभत्ता लिने लाभग्राहीहरू बैंक परिवर्तनका कारण समस्यामा परेका छन् । यसअघि साल्पा विकास बैंकले भत्ता वितरण गर्दै आएकोमा अहिले पाँच वटा वडाका लागि बैंक परिवर्तन गरिएको छ ।
नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेका अनुसार, वडा नम्बर ८ को लागि नबिल बैंक र वडा नम्बर ११ को लागि एनआईसी एसिया बैंकले भत्ता वितरण गर्ने सहमति भए पनि उनीहरू सम्झौता कार्यान्वयन गर्न आएका छैनन् । गत साउन १ गते भएको सहमति कार्यान्वयन नभएपछि नगरपालिकाले भदौ ८ गते बैंकहरूलाई लिखित पत्राचार गरेको छ ।
भत्ता वितरण गर्ने बैंक टुङ्गो नलागेकाले लाभग्राहीहरू नयाँ खाता खोल्न दिक्तेल आएर पनि फर्कन बाध्य भएका छन् । यसबाहेक, राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि झन् समस्या थपिएको छ ।
हालसम्म अपाङ्गता भएका व्यक्ति, ९० वर्षमाथिका ज्येष्ठ नागरिक र १६ वर्षमुनिका बालबालिकालाई परिचयपत्र अनिवार्य नगरिए पनि बैंकहरूले यसलाई अनिवार्य गरेपछि धेरै लाभग्राहीहरूलाई समस्या भएको छ ।
रूपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका ७८ वर्षीय लाभग्राही ज्ञानबहादुर राईले राज्यले दिएको सेवा उपभोग गर्न पनि सास्ती भोग्नुपरेको दुःखेसो पोखे ।
Facebook Comments