पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, गौरापर्वमा घर फर्किँदै गरेका यात्री बाटोमै अलपत्र

User Image मेयरसाप डेस्क | २२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sadak.jpg

जुम्ला । कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिराले सडक अवरुद्ध भएको जानकारी दिए । वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी दिएको उनले बताए । 

त्यसैगरी, वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौं– गिरेगडा सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडकमा पहिरोसँगै ढुंगा खसेर सडक अवरुद्ध भएको हो । 

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको  भए पनि ढुंगाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।  पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको उपकरणले प्रयास गरे पनि पहिरोसँगै खसेको ढुंगाले गर्दा समस्या भएको उनले बताए ।

उनले भने, “हिजो रातिसम्म जेसिभीले पहिरो पन्छाउन प्रयास गरे पनि ठूलो ढुंगाका कारण सम्भव हुन सकेन ।” आज स्काभेटरको सहायताले ढुंगा हटाइने र सडक सञ्चालन गरिने उनले बताए । 

बैतडीसहित सुदूरपश्चिममा आज गौरापर्व मनाइँदैछ । सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्री बीच बाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाएर यातायात सञ्चालन हुन केही समय लाग्ने प्रहरीले जनाएको छ । 


Facebook Comments