हैजाको बारेमा मन्त्रीलाई प्रश्न गर्ने युवतीमाथि ३ वटा मुद्दा दर्ता


काठमाडौं । वीरगञ्जमा फैलिएको हैजाबारे खानेपानी मन्त्री प्रदीप यादवसँग प्रश्न गरेकी स्थानीय किरण साह अहिले पर्सा प्रहरीको हिरासतमा छिन् । शनिबार मध्यराति नेशनल अस्पतालमा कुरुवा बसिरहेका बेला उनी पक्राउ परेकी हुन् । मन्त्री यादवको सचिवालयबाट किरणविरुद्ध शनिबार उजुरी परेपछि प्रहरीले उनलाई अस्पतालबाटै नियन्त्रणमा लिएको थियो ।
प्रहरीले साहमाथि विद्युतीय कारोबारसम्बन्धी अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिन नहुने कसुर र अफबाह फैलाएको आरोपमा तीनवटा मुद्दा दर्ता गरेको छ।
तीनवटै मुद्दामा जिल्ला अदालतबाट किरण साहमाथि ३ दिनको म्याद थप भइसकेको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए ।
शुक्रबार राति नै सामाजिक सञ्जालमा सार्वजनिक अडियोमा किरणले मन्त्री यादवसँग आक्रोश पोखेकी थिइन् । हैजासँग सम्बन्धित समस्या जानकारी गराउन पटक–पटक फोन गरे पनि नउठेको भन्दै उनले आक्रोश व्यक्त गरेको सुनिन्छ । ‘हैजा लागेर वीरगन्जमा मान्छे मरेका छन्, तपाईं के गर्दै हुनुहुन्छ रु’ उनले मन्त्री यादवलाई सोधेकी छिन् ।
उनले संवादकै क्रममा मेरो घरकै मान्छे आइसियूमा भर्ना छन, मन्त्रीजी । मैले छोड्दिनँ, मलाई डर लाग्दैन । मारी दिन्छु’ भनेकी छिन् । यसैलाई लिएर मन्त्री यादवले उजुरी दिएका हुन् ।
जनसरोकारका विषयमा किरणले मन्त्री यादवसँग जवाफदेहिता मागे पनि मन्त्रीको सचिवालयले किरणले फोनमा ज्यान मार्ने धम्की दिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएको थियो । त्यही आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।
सामाजिक सञ्जालमा अडियो भाइरल भएपछि मन्त्री यादवको दबाब र प्रभावमा परी प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको किरणका आफन्तले बताएका छन् ।
Facebook Comments