अखिल (क्रान्तिकारी)ले डिजिटल वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै


काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले डिजिटल वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ। अखिल (क्रान्तिकारी)ले आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी ‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ विषयमा खुला डिजिटल वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो ।
संगठनका अनुसार वक्तृत्वकला प्रतियोगिताका लागि ‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ विषयमा नेपाली भाषामा तयार गरिएको अधिकतम ५ मिनेटको भिडियो संगठनको इमेल [email protected] मा पठाउन सकिने छ । भिडियो २०८२ भदौ १५ गते साँझदेखि भदौ ३१ गते राति १२ बजेसम्म पठाउन सकिने संगठनले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ, द्धितिय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको समेत संगठनले जानकारी दिएको छ । प्रतियोगिताका लागि आएका भिडियोहरुलाई संगठनको आधिकारिक पेजमार्फत प्रशारण गरिने र प्रतियोगिताको मूल्याङ्कनमा विषयगत पक्षलाई ६० अंक र सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ४० अंकको भार दिने व्यवस्था गरिएको समेत संगठनले जनाएको छ ।
पत्रकार सम्मेलनमा संगठनका फ्याक्सन इन्चार्ज हिमाल शर्माले पुस्तकालय विभागले गर्न लागेको कार्यक्रम इतिहासको दस्तावेजीकरणका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
अध्यक्ष विजय प्रकाश सापकोटाले आजको युगमा पुस्तकालयको महत्व अझ बढेको भन्दै विभागको रचनात्मक पहलको प्रशंसा गरे। महासचिव रोशन थापामगरले यस्ता कार्यक्रम विगतदेखि गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा प्रविधिमैत्री र युगानुकूल गतिविधि आवश्यक पर्नेमा जोड दिए।
Facebook Comments