सिन्धुपाल्चोकमा जलवायु परिवर्तनको मारमा चौँरीपालन व्यवसाय


चौतारा । जलवायु परिवर्तनको असर, वैदेशिक रोजगारप्रतिको बढ्दो आकर्षण र चरन क्षेत्रमा घाँसको कमीले सिन्धुपाल्चोकका उच्च हिमाली क्षेत्रमा हुँदै आएको चौँरीपालन व्यवसाय सङ्कटमा परेको छ ।
पुस्तौँदेखि तीन हजारदेखि छ हजार मिटरको उचाइमा घुम्ती गोठ प्रणालीमार्फत चल्दै आएको यो व्यवसाय अहिले क्रमशः घट्दै गएको छ ।
जुगल गाउँपालिकाका चौँरीपालक पासाङ शेर्पाका अनुसार, हिमाली क्षेत्रमा पहिले जस्तो चिसो छैन र हिमालमा हिउँ पनि देखिन छोडेको छ, जसले गर्दा चौँरीलाई चरनयोग्य घाँस पाउन मुस्किल भएको छ ।
पाँचपोखरीका ईन्द्रबहादुर गुरुङले पनि मौसममा आएको परिवर्तन र चौँरी तथा भेँडाहरू धमाधम मर्न थालेपछि यो पेसा छोड्नुपरेको बताए ।
चौँरीपालक किसानहरूका अनुसार, पहिले पाइने पोषणयुक्त लेकाली घाँस अहिले मौसम परिवर्तनले गर्दा हराएको छ । यसले चौँरीहरूलाई रोग लाग्ने र मर्ने क्रम बढेको छ । साथै, उत्पादनको उचित मूल्य नपाउने र युवा पुस्ता वैदेशिक रोजगारीमा जाने लहरले पनि यो पेसाप्रतिको आकर्षण घटेको छ ।
सिन्धुपाल्चोकका बाह्रबिसे, भोटेकोसी, जुगल, पाँचपोखरी र हेलम्बु गाउँपालिकामा चौँरीपालन हुने गरेको छ, जहाँ अहिले पनि १३१ जना किसान यो पेसामा आबद्ध छन्।
स्थानीय पालिकाले चौँरी र याकको संरक्षणका लागि बिमा कार्यक्रम ल्याए पनि परम्परागत शैलीको पशुपालनलाई आधुनिकीकरण गर्न नसक्नु र राज्य तहबाट पर्याप्त सहयोग नहुँदा यो व्यवसायलाई अगाडि बढाउन चुनौती थपिएको छ ।
Facebook Comments