सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल कडाइ नगर्न कांग्रेसको आग्रह


काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको आदेशअनुसार कानुन नबनाएसम्म सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा कडाइ नगर्न सुझाव दिएको छ । आइतबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेस नेता बलबहादुर केसीका अनुसार, बैठकमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयबारे छलफल भएको थियो । सर्वोच्च अदालतले कानुन बनाएर मात्रै सामाजिक सञ्जाल नियमन गर्न दिएको परमादेशको अवहेलना नहुने गरी अघि बढ्न पार्टीले सरकारलाई सुझाव दिएको छ ।
बैठकले सरकारको यसबारे आधिकारिक ’पोजिसन’ बुझेर अगाडि बढ्ने पनि निर्णय गरेको छ । यसैगरी, आगामी कात्तिक १७ गते मनाङमा हुने प्रदेशसभा उपनिर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय पनि बैठकले गरेको नेता केसीले जानकारी दिए ।
सरकारले गत बिहीबार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो, जसको चौतर्फी विरोध भइरहेको छ ।
Facebook Comments