स्थानीय तहमा रहेका साथीहरूले कुनै खोट नआउने गरी काम गर्नुपर्छः प्रधानमन्त्री ओली


ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दलीय सहमतिबमोजिम संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार गरिने बताएका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलबाट आएको प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले वर्तमान सरकार सात बुँदे सहमतिको जगमा बनेकाले तिनलाई क्रमशः कार्यान्वयन गर्दै जाने बताए ।
“सुशासनको प्रत्याभूति, निर्वाचन प्रणाली सुधार गर्दै अगाडि बढ्नुपर्ने छ । अनेक प्रकारका बखेडा निकाल्नेभन्दा निष्कर्षमा पु¥याउने गरी काम हुन्छ । समानताको आधारमा राष्ट्रिय एकता, सुशासन र विकासको काम हुन्छ”, प्रधानमन्त्री ओलीले भने ।
उनले धेरै कुरा राजनीतिक प्रस्तावमा सविस्तार उल्लेख गरिएको भन्दै परिपक्वताका साथ काम गरिने स्पष्ट पारे। “प्राप्त सुझावलाई ध्यान दिएर काम गर्नेछौँ । वर्तमान संविधान निकै मिहेनत गरेर हामीले जारी गरेका हौँ । ३१ वटा मौलिक हकका लागि हामीले पैरवी गरेका हौँ । जनताको बहुदलीय जनवादका आधारमा संविधान बनेको हो ।
बाटो बनाउने बेलामा विरोध हुन्छ, बाटो बनिसकेपछि त्यो बाटोमा हिड्दिनँ भनेर कसैले भन्दैन, हामी देश, जनता र विकासको बाटोमा अगाडि बढिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भने । राजनीतिक प्रतिवेदनमाथि प्राप्त प्रश्न एवं सुझावबारे धारणा राख्दै उनले एमालेमा हिजोको जस्तो परिस्थिति नरहेको र एमाले जवाफदेहिताको केन्द्र तथा प्रतिस्पर्धाको राजनीतिमा रहेको बताए । “अहिले वामएकताको नारा दिइरहेका छन् ।
हिजो हामीलाई सिध्याउन भनेर हिँडेका हैन ? पार्टी खिइँदै गएर दुई चार जनामा सीमित भएकाहरूलाई फेरि एकताको नारा लगाइरहेका छन् । हामीले फर्मालिन हाल्न किन जानु”, उनले भने । एमालेसँग गौरवपूर्ण इतिहास, भरलाग्दो वर्तमान र आशालाग्दो भविष्य रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीविरुद्ध ‘पपुलिष्ट’ राजनीति गर्नेविरुद्ध किन बोल्न र लेख्न नसकेको भन्दै नेता तथा कार्यकर्तालाई प्रश्न गरे । उनले प्रदेश तथा स्थानीय तहको नेतृत्वमा रहेका पार्टी नेताहरूलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिए ।
अध्यक्ष ओलीले भने, “प्रदेश र स्थानीय तहमा रहेका हाम्रा साथीहरूले कुनै खोट नआउने गरी काम गर्नुपर्छ । हामी एउटा महान् उद्देश्यमा छौँ, त्यसैले यसमा दृढ भएर काम गरौँ ।”
उनले वितरणमुखी बजेटले देशको विकास नहुने भएकाले सबै क्षेत्रको विकासका लागि समुचित बजेट व्यवस्थापन गरिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले चुरे दोहनका कारण वातावरणमा समस्या भएको भन्दै चुरे संरक्षणका लागि ठोस् राजनीतिक कदम आवश्यक रहेकाले यसका लागि नीति र कार्यक्रम बनाएर छुट्टै प्रबन्ध गरिने बताए।
उनले जनसरोकारका विषयमा महिलामाथि भइरहेका ज्यादति, युवाका चासो, किसानका माग, विद्यार्थीका आवश्यकताका विषयमा एमालेले अभियान चलाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले सूचना प्रविधिको जमाना भएकाले त्यसको उपयोग गर्दै आम्दानी गरेर समृद्धि हासिल गर्न लाग्नुपर्ने बताए ।
“मानिसको मस्तिष्क अहिले उत्पादनको साधन भएको छ । प्रविधिसँगको पहुँच भएको व्यक्तिले विश्वस्तरमा व्यापार र उद्यम गर्नसक्छ । आज शारीरिक श्रमभन्दा मानसिक श्रम बलियो भएको छ, छोराछोरी पढाइदियो मात्रै भने पनि आज परिवार सम्पन्न हुन्छ । त्यसले समयलाई चिनेर काम गर्न आवश्यक छ”, उनले भने ।
प्रधानमन्त्री ओलीले विकासका लागि स्थायित्व र स्थिर सरकार आवश्यक रहेको बताए । “एमालेले दश वर्ष शासन गर्न पायो भने देशमा धेरै विकास हुन्छ । हामीकहाँ १० महिना पनि सरकार टिक्दैन, १० महिनामा त जग हालेको घर पनि पूरा भएको हुँदैन । अहिले भने मैले नै धेरै समय सरकार टिकाएको हो । त्यसैले जनसरोकारका पक्षमा काम गरौँ एमालेलाई कसैले बिर्सिंदैन”, उनले भने ।
जनसंगठनहरू जाग्दो र आशलाग्दो हुनुपर्ने भन्दै अध्यक्ष ओलीले एमालेले आफ्नो शक्तिलाई पनि चिन्नुपर्ने बताए । उनले एमालेको सदस्यता च्यातेर देखाउनेलाई फेरि सदस्यता दिनुपर्दैन भन्दै ‘बलत्कार गर्नु र एक थप्पड हान्नु उस्तै’ भन्नेका पछाडि दौडिनुभन्दा जनताको आवश्यकतामा ध्यान दिएर लाग्नुपर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले देशभित्र आर्थिक जागरण ल्याउन प्रवासी नेपालीलाई पनि ध्यान दिन अनुरोध गरे ।
Facebook Comments