झापामा बिहीबार बिहान ५ बजेसम्म कर्फ्यू, घर बाहिर ननिस्कन आग्रह


झापा । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आज अपराह्न ३ बजेदेखि बिहीबार बिहान ५ बजेसम्मका लागि झापा जिल्लाभर कर्फ्यू आदेश जारी गरेका छन् ।
‘जेन–जी’ आन्दोलनपछि जिल्लामा केही अराजक तत्वले सार्वजनिक र निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी गरेको कारण त्यसलाई कडाइका साथ रोक्न कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ । कर्फ्यू अवधिमा सर्वसाधारणलाई घर बाहिर ननिस्कन र निस्कनै परे सुरक्षाकर्मीसँग अनुमति लिन प्रशासनले आग्रह गरेको छ । कर्फ्यू अवधिमा हिँडडुल गर्न, भेला हुन, सभा जुलुस र प्रदर्शन गर्न निषेध गरिएको जनाइएको छ ।
भदौ २३ र २४ गते भएको आन्दोलनपछि अराजक समूहले झापाका अधिकांश स्थानीय तहका भवन, विर्तामोड र काँकडभिट्टाका भाटभटेनी सुपरमार्केट, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुको घरमा तोडफोड तथा आगजनी गरेका छन् । हाल कर्फ्यूको अवधिमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विर्तामोड, दमक, भद्रपुर, मेचीनगरलगायतका क्षेत्रमा गस्ती गरिरहेको छ ।
Facebook Comments