जनकपुरमा जनजीवन सामान्य बन्दै, सुरक्षा व्यवस्थामा सुधार


जनकपुरधाम । ‘जेनजी’ आन्दोलनका कारण केही दिन तनावग्रस्त बनेको मधेस प्रदेशको राजधानी जनकपुरधाम र धनुषाको जनजीवन सामान्य बन्न थालेको छ । आजदेखि बजारका पसलहरू खुल्न थालेका छन् भने किनमेलका लागि चहलपहल पनि बढेको छ ।
जानकी मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्नुका साथै सरकारी गाडीबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन पनि चल्न थालेका छन् । आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका जिल्ला प्रशासन कार्यालय, प्रदेश मन्त्रालय र अन्य सार्वजनिक भवनहरूको सरसफाइको काम पनि जारी छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा अवस्था सामान्य बन्दै गएकोले आइतबारदेखि सबै सरकारी कार्यालयलाई अनिवार्य रूपमा सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । यद्यपि, तत्कालका लागि राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा भने सञ्चालन नहुने सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिएका छन् ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बजारका विभिन्न स्थानमा खटिएका छन् । आन्दोलनका क्रममा करिब दुई दर्जनभन्दा बढी सरकारी तथा राजनीतिक कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।
Facebook Comments