‘ओली– देउवा र प्रचण्डलाई असारमै सक्रिय राजनीति छाड्न भनेको थिएँ’

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c51c8244dab.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक संकटको लागि शीर्ष नेतृत्वको ’पदमोह’ जिम्मेवार रहेको संकेत गरेका छन् ।

उनले गत असारमै कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सक्रिय राजनीति त्यागेर अभिभावकीय भूमिका खेल्न सुझाव दिएको कुरा स्मरण गरेका छन् ।

शनिबार फेसबुकमा भिडियो सन्देश जारी गर्दै शर्माले भने, ‘असार १ गते झापाको धुलाबारीबाट नै मैले देउवा, ओली र प्रचण्डलाई सक्रिय राजनीति छाड्न भनेको थिएँ ।’ 

उनले कांग्रेसको केन्द्रीय समिति बैठकमा देउवालाई छैटौं पटक प्रधानमन्त्री नबन्न व्यक्तिगत रूपमै आग्रह गरेको पनि बताए । उनले नागरिकमा भएको असन्तुष्टि र फेरि पनि तिनै नेताहरू सत्तामा आउने क्रम दोहोरिएकाले यस्तो सुझाव दिएको बताए ।

शर्माले एक व्यक्तिले एक पटक मात्र राष्ट्रपति, दुई कार्यकाल प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद हुन पाउने व्यवस्था गर्न महासमिति बैठकमा प्रस्ताव लगे पनि त्यो पार्टीको निर्णयमा समावेश हुन नसकेको स्वीकार गरे ।

‘जेनजी’ आन्दोलनपछि ओली नेतृत्वको सरकार ढलेको छ र अहिले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । नेपाली कांग्रेसले संसद विघटनको विरोध गरिरहेको छ ।


Facebook Comments