भक्तपुरका स्थानीय तह आजदेखि सञ्चालनमा, विद्यालय पनि खुल्यो

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/local-level.jpg

भक्तपुर । जनजीवन सामान्य बन्दै गएपछि आजदेखि भक्तपुरका स्थानीय तहका कार्यालय र विद्यालय सञ्चालनमा आएका छन् । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले नगरपालिका, वडा कार्यालय र विद्यालयहरू सबै सञ्चालनमा आएको जानकारी दिए ।

उनले आन्दोलनका क्रममा बन्द भएका सबै कार्यालय आजदेखि सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको र सोहीअनुरुप सेवा सुरु भएको बताए ।

यसैगरी, सूर्यविनायक नगरपालिकाले तोडफोड भएको नगरपालिका भवनको आजदेखि सरसफाइ सुरु गरेको छ । आन्दोलनको दोस्रो दिन भौतिक संरचना तोडफोड गर्नाका साथै नगरपालिका भवनमा आगजनीको प्रयास भएको थियो । त्यसक्रममा स्थानीयले प्रतिकार गरेपछि आन्दोलनकारी तितरबितर हुँदा भवन जोगिएको छ ।

नगरप्रमुख वासुदेव थापाले तोडफोड भएको भवनको आज सरसफाइ गरिएको र सोमबारदेखि सेवा सञ्चालन गरिने बताए। नगरपालिका सबै विद्यालय आजदेखि सञ्चालन भएको उनले जानकारी दिए ।

नगरप्रमुख थापाले भने, “आज सरसफाइ सकेर फुटाएका सिसाहरू फेर्नेलगायत काम सकेर भोलिदेखि सेवा सञ्चालन गर्छौं । वडा कार्यालयले पनि सेवा सञ्चालन गर्नेछन् तर वडा नं ४ र ७ आन्दोलनकारीको तोडफोड र आगजनीबाट पूर्ण रुपमा जलेर क्षति भएकाले ती कार्यालय सञ्चालनमा आउन केही दिन लाग्ने छ ।”

वडा नं ७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले भने आन्दोलनकारीको आगजनीबाट वडा कार्यालय पूर्ण रुपमा ध्वस्त भएकाले तत्काल सेवा सञ्चालन गर्न नसकिने बताए ।

मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले सबै वडा कार्यालयले सेवा सञ्चालन गरेका र नगरपालिका भवनमा आगजनी गरेकाले केही दिन समय लाग्ने बताए । 

यता चाँगुनारायण नगरपालिकाले पनि आजदेखि वडा कार्यालयबाट सेवा सञ्चालन गरेको छ । नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले नगरपालिकाका सबै वडा कार्यालयले सेवा सुरु गरेको जानकारी दिए । 


Facebook Comments