छलफल नगरी मन्त्री बनाएको भन्दै सुदन गुरुङ रुष्ट, मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै सुदन गुरुङको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । प्रधानमन्त्री कार्कीले आइतबार बेलुका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार सार्वजनिक भएको छ ।
तर गुरुङको समूहले आफूहरुसँग छलफल नगरी मन्त्री बनाएको भन्दै मध्यराति प्रधानमन्त्री निवास बालुवाटार पुगेर नाराबाजी गरेका छन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका हुन् ।
सो क्रममा गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’
ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाएको भन्दै उनीहरुले आक्रोश पोखेका हुन् । उनीहरुले ओमप्रकाशको नाम लिएरै विरोध जनाएका थिए । आफूहरुको आन्दोलन हाइज्याक भएको भन्दै सुदनका समर्थकहरुहरु आक्रोशित भएका थिए । सो समूहमा जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेत रहेका थिए ।
Facebook Comments