टुक्रे आयोजनाहरूको कार्यान्वयन रोक्ने अर्थमन्त्री खनालको पहिलो निर्णय
भ्रष्टाचारमा पनि छैन छुट


काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दै आफ्नो पहिलो निर्णयका रूपमा पूर्व तयारी नभएका र टुक्रे आयोजनाहरूको कार्यान्वयन रोक्ने घोषणा गरेका छन् । उनले युवाहरूको माग पूरा गर्न र चुनावको तयारीका लागि खर्च कटौती आवश्यक रहेको बताएका छन् ।
पदभार ग्रहणपछि उनले करिब १०० जना युवाको बलिदानपछि आएको यो परिवर्तनलाई राष्ट्रको ’नासो’ (पुस्ताले सुम्पिएको जिम्मेवारी) को रूपमा लिएको बताए । उनले मुलुकबाट पूर्ण भ्रष्टाचार अन्त्य हुनुपर्ने युवाको मागलाई राष्ट्रिय एजेन्डाको रूपमा लिएको बताए ।
उनले अब कुनै पनि कर्मचारीले गल्ती गरेमा छुट नपाउने चेतावनी दिए। ‘जानेर त गर्नै भएन, नजानेर पनि गल्ती गर्ने छुट छैन,’ उनले भने । विगतको जस्तो गल्ती नदोहोर्याउन आग्रह गर्दै उनले ठूलो गल्ती गर्नेहरू कारबाहीको दायरामा आउनुपर्नेमा जोड दिए ।
मन्त्री खनालले ६ महिनाभित्र जसरी पनि चुनाव गराउनुपर्ने आवश्यकता रहेको बताएका छन् । साथै, उनले सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा लाग्नुपर्ने र यसको बीमा नहुने भएकाले धेरै खर्च सरकारले नै व्यहोर्नुपर्ने चुनौती औँल्याए ।
Facebook Comments