धरान फर्किएर रुँदै हर्क साम्पाङले भने– ‘विदेशीले टेकओभर गर्ने सम्भावना छ’

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c91852ed85c.jpg

धरान । ‘जेनजी’ आन्दोलनपछि प्रधानमन्त्री बन्ने उद्देश्य लिएर काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो हात धरान फर्केका छन् । धरानमा पत्रकारसँग कुरा गर्दै उनी देशको अवस्था सम्झेर भक्कानिएका छन् ।

उनले भने, ‘विदेशीले टेकओभर गर्न सक्ने सम्भावना छ । सबै नेताहरू भागाभाग छन् ।’ आफूलाई खानेपानी र श्रममन्त्री दिइएको भए पनि अस्वीकार गरेको बताउँदै उनले पदका लागि अरूलाई नझुक्ने स्पष्ट पारे ।

बोली अड्किएर रुँदै उनले आफूलाई हिम्मत हारेको मान्छे भन्न नमिल्ने बताए । ‘म जतिको हिम्मतिलो मान्छे यो देशमा कोही पनि छैन,’ उनले भावुक हुँदै भने ।

सांपङले आफूलाई शुभचिन्तकहरूले काठमाडौंमा गोली लाग्न सक्ने बताए पनि देश बचाउन ‘आगोमा हामफाल्ने’ निर्णय लिएर गएको बताए ।

प्रधानमन्त्री बन्नका लागि काठमाडौंमा धेरै छलफल भए पनि ‘यो अटेरी छ, हाम्रो लाइनमा आउँदैन’ भन्ने कुरा आएको उनले बताए । उनले वर्तमान सरकारको वैधतामाथि पनि प्रश्न उठाए । 

साथै, यो सरकार गठनमा ‘गेमर’ भएको आरोप लगाउँदै सम्पूर्ण क्षति र हत्याको जिम्मेवारी उसैले लिनुपर्ने उनको भनाइ छ । उनले अहिलेको गृह मन्त्रालय र सरकारले सबै कुराको जिम्मेवारी लिनुपर्ने पनि बताए ।


Facebook Comments