आगोले कार्यालय जलेपछि पार्किङस्थलबाट राजस्व संकलन

देवदह । ’जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो पार्किङस्थलबाटै सेवा दिन थालेको छ ।
प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार, कार्यालयको मुख्य भवनमा क्षति पुगेपछि आइतबारदेखि टेन्ट राखेर अत्यावश्यक सेवाहरू सुरु गरिएको हो ।
पोख्रेलका अनुसार, आगजनीले कार्यालयका सात वटा कोठा, कम्प्युटर, फर्निचर, र महत्त्वपूर्ण फाइलहरू समेत जलेर नष्ट भएका छन् ।
हाल इन्टरनेट, बिजुली र उपलब्ध कर्मचारीको सहयोगमा ल्यापटप तथा प्रिन्टर प्रयोग गरी अनलाइन तथा अत्यावश्यक सेवाहरू दिइएको छ ।
सेवाग्राही सरोज साहले कार्यालयले असहज परिस्थितिमा पनि सेवा दिएकोमा खुसी व्यक्त गर्दै सेवाग्राही सन्तुष्ट रहेको बताएका छन् ।
यसैबीच, रुपन्देहीमा भदौ २३ गतेदेखि लगाइएको निषेधाज्ञा र कफ्र्यू पनि भदौ २८ गतेदेखि हटाइएको छ ।
प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले शान्ति सुरक्षा सामान्य रहेको र जनजीवन पनि सामान्यीकरणतर्फ फर्किरहेको बताएका छन् ।
प्रशासनले सबै पक्षलाई पारस्परिक सद्भाव कायम राख्न र जनजीवनलाई सामान्य बनाउन सहयोग गर्न अनुरोध गरेको छ ।
Facebook Comments