तुलसीपुर उपमहानगरको भवन क्षतिग्रस्त, त्रिपाल टांगेर सेवा सुरु

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ca270449729.png

दाङ । जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मंगलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सुरु गरेको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए । 

उनका अनुसार विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त टेन्टबाट  क्यान्सर, मिर्गौलालगायतका बिरामीलाई उपचारका लागि सिफारिस गर्ने र तत्काल नगरी नहुने कामलाई सुरुवात गरिएको हो ।

आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको उपमहानगरपालिकाको दुईवटै भवन सरसफाइ गरिएको छ । भवनको प्राविधिकबाट परीक्षण भइरहेकाले  अहिले नै बस्न नमिल्ने नगरप्रमुख खड्का बताउँछन् ।  

नगरप्रमुख खड्काले भने, “यदि प्राविधिक मूल्याङ्कनले बस्न मिल्ने भन्ने भएमा भवन मर्मत गर्नतर्फ लाग्ने छौँ ।” पालिकाले निर्माण गरेको अर्को नौतले व्यापारिक भवनका भने सिसा मात्र फुटेको छ । तर सो भवन ठेकेदारले पालिकालाई अझै हस्तान्तरण नगरेको नगरप्रमुख खड्काले बताए ।

सम्झौताभन्दा पाँच महिना पहिले नै त्यो भवन निर्माण पूरा भएकाले सोहीअनुसार ‘बोनस’ पुरस्कार ठेकेदारले दाबी गरेको भन्दै त्यो दिनासाथ भवन हस्तान्तरण हुने प्रमुख खड्काको भनाइ छ । 

भवन हस्तारण भए लगत्तै त्यहाँबाट अस्थायी रुपमा कार्यालयको सेवा दिन सकिने प्रमुख खड्काको भनाइ छ । पालिकाका एउटा नयाँ भवन र अर्को पुरानो भवन गरी दुईवटै जलेर नष्ट छन् । व्यापारी भवनको लागि निर्माण गरिएको नौ तले भवनका सिसा तथा शौचालय तोडफोड गरिएको छ ।

उपमहानगरपालिकाका दमकलसहित २० वटाभन्दा बढि सवारीसाधन जलेर नष्ट छन् । फिल्डमा गएका केही सवारीसाधनबाहेक सबै सवारी जलेर नष्ट भएका हुन् ।  


Facebook Comments