बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा
'युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु उचित लागेन'

काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन चर्किएपछि गत भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन ।
गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी प्रक्रिया पुरा गर्न अनुकुल नभएको उनले पत्रमा उल्लेख गरेका छन् ।
राजीनामा पत्रमा उनले उक्त घटनाले आफूलाई अत्यन्त भावविह्वल बनाएको र राष्ट्र शोकमा डुबेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु उचित नलागेको उल्लेख गरेका छन् । उनले राजीनामा पत्रको बोधार्थ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई पनि दिएका छन् ।
Facebook Comments