सहिद चौधरीको परिवारलाई लहान नगरले एक लाख दिने, पत्नीलाई रोजगारी


सिरहा । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर सहिद भएका लहान नगरपालिका–१५ सिमलटोकीका विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले रु एक लाख राहत दिने भएको छ ।
साथै विजयको चार वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने र पत्नीलाई योग्यताअनुसार नगरमा रोजगारीको व्यवस्था गर्ने निर्णय गरिएको हो ।
नगरप्रमुख महेश चौधरीले मंगलबार पत्रकार सम्मेलनमार्फत उक्त निर्णयबारे जानकारी दिएका थिए । उनले भने, “प्रदर्शनमा ज्यान गुमाइसकेपछि परिवारले भोग्नुपर्ने पीडा केही हदसम्म भए पनि कम होस् भन्ने उद्देश्यले हामीले राहत, शिक्षा र रोजगारको व्यवस्था मिलाएका हौँ ।”
गत भदौ २३ र २४ गते प्रदर्शनकारीले लहान नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी गरी भवनलाई पूर्ण रूपमा क्षति पु¥याएका थिए । नगरप्रमुख चौधरीले आफू जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै भने, “कार्यालयको संरचना जलेर नष्ट भएको छ, तर हाम्रो सेवा भावना र जिम्मेवारी जलेको छैन । दुःखसुख गरेर भए पनि आइतबारदेखि हामी सेवा प्रवाहमा लाग्ने तयारी गरेका छौँ ।”
गत भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शमा प्रहरीको गोली लागेर २७ वर्षीय विजय चौधरीको मृत्यु भएको थियो । उनको नौ दिनपछि मंगलबार गाउँमा अन्तिम संस्कार गरिएको हो ।
विजय घरका कान्छा छोरा थिए । उनको एक दाई र एक दिदी छन् । विजय काठमाडौंमा झण्डै एक दशकदेखि ‘हाउस वायरिङ’को काम गर्दै आएका थिए । यसअघि संघीय सरकारले प्रदर्शनमा मृत्यु हुनेलाई सहिद घोषणा गरिसकेको छ । साथै, पीडित परिवारलाई प्रतिव्यक्ति रु १५ लाख राहत दिने निर्णय पनि गरिसकेको छ ।
Facebook Comments