‘जेन–जी’का मागहरू माओवादीले १० वर्षअघि नै उठाएको प्रचण्डको जिकिर

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cce66a304b3.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जेनजी’ आन्दोलनको क्रममा संसद् विघटन र संविधान खारेज गर्ने प्रयास भएको बताएका छन् । 

संविधान दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आफूले त्यसलाई रोक्न भूमिका खेलेको दाबी गरे ।

प्रचण्डले भने, ‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो ।’ उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति र अन्य नेताहरूसँग रातभर कुरा गरेर संविधान जोगाउन र अन्तरिम सरकार बनाउन पहल गरेको बताए ।

उनले यो विषम परिस्थितिमा संविधानको रक्षा गर्न उभिएकाले राष्ट्रपति पौडेल र प्रधानसेनापति दुवैको भूमिका प्रशंसनीय रहेको भन्दै धन्यवाद दिए ।

अध्यक्ष प्रचण्डले ‘जेनजी’ ले उठाएका मागहरू आफूहरूले १० वर्षअघि नै उठाएको बताए । उनले अहिले ठूला दलहरूले गरेको अहंकारका कारण देश यो भयानक परिस्थितिमा आएको तर्क गरे ।

‘जेनजी’ आन्दोलन सही छ भन्ने माओवादी पहिलो पार्टी रहेको जिकिर गर्दै उनले आफूहरूले भदौ २३ गते नै प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गर्दा नसुनेकाले २४ गते थप घटना भएको बताए ।

प्रचण्डले आफ्नो पार्टीले महान् ऐतिहासिक विद्रोह गरेर सबै वर्गलाई अधिकार दिलाउने काम गरेको भन्दै हीनताबोधका साथ बाँच्नुपर्ने कुनै आवश्यकता नरहेको बताए ।


Facebook Comments