अलपत्र आयोजनाका ठेक्का तोड्न ऊर्जामन्त्री घिसिङको निर्देशन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cce7d30cda4.jpg

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले लामो समयदेखि अलपत्र परेका विकास आयोजनाहरूको ठेक्का तोड्न निर्देशन दिएका छन् । उनले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनाहरूलाई अलपत्र पार्न नदिने स्पष्ट पारेका छन् ।

मन्त्री घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई जीर्ण बनेका आयोजनाहरूको सूची तत्काल बुझाउन आदेश दिए । उनका अनुसार, सुनकोशी मरिण बहुउद्देश्यीय आयोजना, ३०० भन्दा बढी सडक र १०० भन्दा बढी पुलका आयोजनाहरू अलपत्र अवस्थामा छन् ।

यसैबीच, मन्त्री घिसिङले संघीय संसद भवनको निर्माण आगामी पुसभित्र जसरी पनि सम्पन्न गर्न निर्देशन दिएका छन् । जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित पुरानो संसद् भवनमा ठूलो क्षति पुगेपछि नयाँ भवनको निर्माण संवेदनशील रहेको उनले बताएका छन् ।

भ्रष्टाचार नियन्त्रणलाई आफ्नो मुख्य प्राथमिकता बताउँदै उनले भने, ‘विगतमा कमिसन खाएर बजेट नै बेचेको भन्ने आरोप सुन्ने गरिएको छ । जेनजी आन्दोलनको मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण थियो । एक रुपैयाँ पनि अनियमितता गरेको फेला परेमा संलग्नलाई छाडिने छैन ।’


Facebook Comments