रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी


काठमाडौं । शुक्रबार बिहान रुसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवामा शक्तिशाली भूकम्प गएको छ । दुवै क्षेत्र प्रशान्त महासागरको ’रिङ अफ फायर’ मा पर्ने भएकाले भूकम्पीय जोखिममा छन् ।
अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) अनुसार, रुसमा ७.८ म्याग्निच्युडको भूकम्प कामचटका प्रायद्वीपको तटमा महसुस भएको थियो ।
राजधानी पेट्रोपाभ्लोभस्क–कामचाट्स्कीबाट १२८ किलोमिटर पूर्वमा केन्द्रित भूकम्पका कारण भवन र सवारीसाधन हल्लिएको भिडियो सामाजिक सञ्जालमा देखिएका छन् ।
रुसी जियोफिजिकल सेवाले यसलाई ७.४ म्याग्निच्युडको बताएको छ भने कम्तीमा पाँच वटा परकम्प आएको जनाएको छ ।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिए पनि केही घण्टापछि हटाइएको थियो । गभर्नर भ्लादिमिर सोलोदोभले टेलिग्राममार्फत शान्त रहन आग्रह गरेका छन् । हालसम्म कुनै ठूलो क्षतिको रिपोर्ट आएको छैन ।
यसैबीच, इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तमा पनि ६.१ म्याग्निच्युडको भूकम्प गएको यूएसजीएसले जनाएको छ । इन्डोनेसियाको बीएमकेजी एजेन्सीले भने यसको म्याग्निच्युड ६.६ रहेको बताएको छ ।
नबिरे सहरबाट २८ किलोमिटर दक्षिणमा केन्द्रित यो भूकम्पको गहिराइ २४ किलोमिटर रहेको थियो । ‘रिङ अफ फायर’ मा अवस्थित यी क्षेत्रहरूमा बारम्बार भूकम्प गइरहने हुँदा स्थानीय बासिन्दाहरू निरन्तर जोखिममा छन् ।
Facebook Comments