‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवार भन्छन्– ‘देश परिवर्तन भएको हेर्न चाहन्छौं’


भक्तपुर । ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते गोली लागेर ज्यान गुमाएका भक्तपुर निवासी तीनजना शहीदका परिवारको पीडा गहिरो बनेको छ । छोरा गुमाएको ११ दिन बितिसक्दा पनि उनीहरूको आँखा अझै ओभाएका छैनन् । शहीदका परिवारहरूले आफ्ना प्रियजनको बलिदान व्यर्थ नहोस् भन्दै उनीहरूले चाहेको जस्तो देश परिवर्तन भएको हेर्न चाहेको बताएका छन् ।
चाँगुनारायण नगरपालिका–२ दुवाकोटका २१ वर्षीय अभिषेक चौलागाईंको संसद भवन परिसरमा गोली लागेर मृत्यु भएको थियो । उनका पिता दिनेश चौलागाईं नेपाल प्रहरीमा कार्यरत छन् र घटनाका दिन उनी भक्तपुरस्थित सल्लाघारीमा ड्युटीमै थिए । दिनेशले छोरालाई आन्दोलनमा नजान आग्रह गर्दा पनि अभिषेकले ‘देश भ्रष्टाचारले डुब्यो, परिवर्तन गर्नुपर्छ’ भन्दै आन्दोलनमा गएको सम्झना गरे ।
त्रिचन्द्र क्याम्पसमा होटल म्यानेजमेन्टमा स्नातक पढ्दै गरेका अभिषेकले आमा रीतालाई फोनमा भनेका थिए, “देशका लागि केही गर्नेबेला आएको छ, देश परिवर्तनका लागि मर्नु परे पनि मर्छु, म आन्दोलनमा छु, चिन्ता नलिनु आमा ।”
त्यसैगरी, दोलखाको बिगु गाउँपालिका–३ स्थायी घर भई दुवाकोटमा बसोबास गर्दै आएका २२ वर्षीय महेश बुढाथोकी पनि कोटेश्वरमा गोली लागेर शहीद भएका थिए। उनकी आमा क्यान्सर रोगले थलिएकी छिन् । महेशले वैदेशिक रोजगारीका लागि माल्टा जाने तयारी गरिरहेको र म्यानपावरलाई ५० हजार रुपैयाँ बुझाइसकेको उनका बुबा केशव बुढाथोकीले बताए । गरिब परिवारको सम्पूर्ण सपना बोकेर हिँडेका महेशको मृत्युले परिवार बेसहारा बनेको छ ।
सोही आन्दोलनमा ज्यान गुमाएका चाँगुनारायण माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनरत अर्का युवा रोशन (योगेन्द्र) न्यौपाने का परिवार किरियाका लागि पैतृक थलो सिन्धुली पुगेको छ ।
यी सबै शहीद परिवार र आफन्तजनले अब जेनजी आन्दोलनले उठाएका मागहरू पूरा गरी भ्रष्टाचारमुक्त देश तथा कार्यकारी प्रधानमन्त्रीको सपना साकार पार्न सरकार र सम्बन्धित सबै पक्षसँग माग गरेका छन् । उनीहरूको बलिदानलाई न्याय दिनका लागि देशले सही बाटो रोज्नुपर्नेमा सबैको जोड छ ।
Facebook Comments