लोकतान्त्रिक प्रणालीको रक्षा गर्न पूर्वराष्ट्रपति यादवको अपिल


काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गरेका छन् ।
संविधान दिवसको अवसरमा उनले लोकतन्त्रमा बदलाको भावनाभन्दा पनि कानुनको शासनलाई प्राथमिकता दिनुपर्ने बताए ।
डा. यादवले भने, “‘जेनजी’ आन्दोलनकारीलाई वर्तमान चुनावी सरकारलाई साथ र सहयोग गर्न आग्रह गर्छु ।” उनले ‘जेनजी’ पुस्ताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त देशको आकाङ्क्षासहित गरेको आन्दोलनलाई सही ठहर गरे ।
यद्यपि, आन्दोलनको दोस्रो दिन देखिएको विध्वंशकारी गतिविधिले देशको सार्वजनिक सम्पत्ति र लोकतन्त्रका तीनै अङ्गमाथि आक्रमण भएकोमा उनले चिन्ता व्यक्त गरे । यस्ता कार्य अराजक तत्वले मात्र गर्न सक्ने उनको भनाइ छ ।
उनले आन्दोलनमा भएका जघन्य अपराधहरूको न्यायिक जाँचबुझ गरी दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिएका छन् । डा. यादवका अनुसार, अब स्वच्छ छवि भएका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारलाई सहयोग गर्नुपर्छ ।
‘अब चुनावभन्दा दायाँबायाँ जानु हुँदैन। लोकतन्त्रमा जनताको अधिकार जनतामा छ,’ उनले भने, ‘भविष्यको बाटो कोरेर जाऔँ भन्ने देशवासीमा नम्र अनुरोध गर्दछु ।’
Facebook Comments