कांग्रेसकाे नेतृत्व परिवर्तनको बहस अहिले जायज छैन : प्रवक्ता महत

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cf9593824d8.jpg

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका अभिभावकमाथि सांघातिक आक्रमण भई अस्पतालमा उपचार भइरहेका बेला नेतृत्व परिवर्तनको बहस सुरु गर्नु जायज नभएको बताएका छन् ।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाउँदै आएको विशेष महाधिवेशनको प्रस्तावलाई लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि पूरा हुन पर्खन पनि सक्दैनौँ? आकाश झरिहाल्छ?’ महतले भने, ‘पार्टीका संरचनामा छलफल गर्छौं। घटनाको मूल्याङ्कन र सुधार पनि गर्छौं तर त्यसका लागि पर्खनुपर्छ ।’

उनले कार्यसम्पादन समितिले निर्णय नगर्दै बाहिरबाट नेतृत्व परिवर्तनको बहस थाल्नुले पार्टीलाई राम्रो नगर्ने चेतावनी दिए । यस्तो बहसले देशलाई थप अस्थिरतातर्फ धकेल्ने उनको भनाइ छ ।

महतले सहज परिस्थितिमा नेतृत्वको प्रशंसा गर्ने र अप्ठेरो पर्नेबित्तिकै गालीगलौज गर्ने प्रवृत्ति गलत भएको बताए । उनले सबैलाई सन्तुलित र संयमित भएर सामूहिक निष्कर्षमा पुग्न पनि आग्रह गरे ।


Facebook Comments