जोरपाटी–गोकर्णेश्वर सडक : शृङ्खलाबद्ध पुनःस्थापना अनिवार्य
दुर्घटनाको उच्च जोखिम


स्थानीय जनप्रतिनिधि र नागरिक समुदायको निष्क्रियताका कारण नेपाल अरब बैंकदेखि जोरपाटी चोक र नेपाल मेडिकल कलेजसम्मको सडक र फुटपाथ कब्जा भएको छ । यो सडक खण्डमा जथाभावी सवारी साधन पार्किङ गर्ने र व्यापार गर्न सुरु गरिएको छ । अब यस्ताे अराजकता सह्य हुँदैन, पैदल यात्रीको सुरक्षा र अनुशासन कायम गर्न हामी सबै एकजुट हुनुपर्छ ।
नेपालीहरूको महान चाड विजया दशमी नजिकिँदै छ । तर, २०८२ भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि ट्राफिक संरचना र व्यवस्थापन भङ्ग भएको तथ्यलाई हामीले बेवास्ता गर्न सक्दैनौं । उच्छृङ्खल व्यक्तिहरूले सडकमा भएका ट्राफिक डिभाइडर, ट्राफिक लाइट र सडकमा राखिएका संकेत बोर्डहरू नष्ट गर्ने, ध्वस्त पार्ने र जलाउने काम गरेका छन् । यस विनाशकारी घटनापछि सडक सुरक्षाको अवस्था झनै खतरनाक बनेको छ ।
आज सवारी चालकहरूले अत्यन्तै लापरवाहीसाथ सवारी साधन चलाइरहेका छन् । मोटरसाइकलमा समेत तीनजना देखि चारजनासम्म यात्रुहरू बोकेर गुड्ने क्रम सुरु भएको छ । सडकको दुवैतर्फ जथाभावी सवारी साधन पार्किङ गर्ने, सडक र फुटपाथमा व्यापारीहरूले पसल थाप्ने र सामान थुपार्ने दृश्य दैनिक देख्न सकिन्छ ।
नेपाल अरब बैंकदेखि जोरपाटी चोकसम्मका कतिपय व्यापारीहरूले पसलबाट सामान निकालेर फुटपाथमा व्यापार गरिरहेका छन् । मुढामा बसेर, ठेलागाडामा सामान राखेर सडक कब्जा गर्न थालिएको छ । बेलुकी जोरपाटी चोकमा त हाटबजार लागेजस्तै हुने गरेको छ ।
मुख्य सडकको फुटपाथ नै कब्जा भएपछि पैदल यात्रीहरू सडकमा हिँड्न बाध्य भएका छन् । यो कुनै पनि क्षणमा दुर्घटनाको निम्ति खुला आमन्त्रण हो । ‘कुन समयमा सवारी दुर्घटनामा परी ज्यान गुमाउने हो भगवान भरोसा’ भन्ने वाक्य वास्तवमै यथार्थ बनेको छ ।
जोरपाटी चोकदेखि नेपाल मेडिकल कलेजसम्मको सडकमा दुवैतर्फ सवारी साधन पार्किङ भइरहेका छन् । चालकहरू लापरवाहीसाथ सवारी साधन चलाइरहेका छन् । कतिपय स्थानमा त फुटपाथ नै नभएकाले मानवीय क्षति कति बेला हुने हो कसैलाई थाहा छैन ।
जोरपाटी सुन्दरी जल सडक खण्डमा मुख्यतया दुईवटा समितिका सार्वजनिक बसहरू गुड्छन्—सुन्दरीमाई र सिटी यातायात । यी बसहरू सडकमा यात्रुहरूलाई सुरक्षित पुर्याउने जिम्मेवारी बोकेका भए पनि वास्तविकता उल्टो छ । उनीहरू प्रेसर हर्न बजाउन र लापरवाहीसाथ गाडी चलाउनमा प्रतिस्पर्धा गर्छन् ।
अब सहन सकिँदैन
सडक भनेको सवारी साधन गुड्नको लागि हो, पार्किङको लागि होइन । फुटपाथ भनेको पैदल यात्री हिँडडुल गर्नको लागि हो, व्यापार वा सवारी पार्किङको लागि होइन । काठमाडौं उपत्यकामा प्रेसर हर्न पूर्ण रूपमा निषेध गरिएको छ, तर अझै पनि यसको दुरुपयोग भइरहेछ । सडकमा लापरवाहीसाथ सवारी साधन चलाउनु भनेको मृत्युको ढोका खोल्नु हो ।
यसपटक स्थानीय समुदाय र स्थानीय जनप्रतिनिधिहरू विशेष रूपमा जागरूक हुनुपर्नेछ । यी दुई सार्वजनिक बस समितिहरूलाई कडाइका साथ सम्झाइबुझाइ गर्नैपर्छ । सडक र फुटपाथ कब्जा गर्ने व्यापारीहरूलाई अब पूर्ण रूपमा रोक्नैपर्छ । मोटरसाइकलमा तीनजना वा चारजनासम्म यात्रु बोकेर गुड्ने काम तत्काल बन्द हुनैपर्छ । प्रेसर हर्न बजाउने र लापरवाहीसाथ गाडी चलाउने चालकहरूलाई स्थानीय समुदायकै दबाबमा कारबाही गर्न बाध्य गरिनुपर्छ ।
आन्दोलनपछि निष्क्रिय बनेको ट्राफिक व्यवस्थापनलाई अब सबलीकरण गर्नुपर्छ। यसबीचमा अनियन्त्रित स्थिति सिर्जना गरेर फाइदा उठाउने जोकोहीलाई सजाय दिनुपर्छ । सडक र फुटपाथ कब्जा गर्ने व्यापारीहरूलाई अब पूर्ण रूपमा व्यापार गर्न निषेध गरिनुपर्छ ।
जथाभावी पार्किङ गर्ने चालकहरूलाई लज्जित बनाइनुपर्छ । प्रेसर हर्न बजाउने र लापरवाहीसाथ सवारी चलाउने चालकहरूलाई स्थानीय समुदाय, जनप्रतिनिधि र नागरिक अभियन्ताहरूले कारबाही गर्नुपर्छ । पैदल यात्रीको अधिकार र सडक शृङ्खला रक्षा गर्न सबैले तत्काल कदम उठाउनैपर्छ ।
नेपालको सडक र फुटपाथलाई सुरक्षित बनाउनु केवल ट्राफिक प्रहरीको जिम्मेवारी होइन । यो सम्पूर्ण समाजको साझा जिम्मेवारी हो—स्थानीय समुदायको, स्थानीय जनप्रतिनिधिको, नागरिक समाजमा सक्रिय अभियन्ता र समाजसेवीहरूको । यदि अब पनि कठोर कदम चालिएन भने दुर्घटनाले जीवन र भविष्य दुबै निगलिरहनेछ ।
यस लेखको उद्देश्य सडक कब्जा गर्ने, फुटपाथमा व्यापार गर्ने, प्रेसर हर्न बजाउने, र लापरवाहीसाथ सवारी चलाउने सबै गतिविधि आजैदेखि पूर्णरूपमा बन्द गरिनु आवश्यक छ । क्षेत्रका स्थानीय समुदाय, जनप्रतिनिधि र सक्रिय नागरिक अभियन्ताहरू जिउँदो र सचेत छन् भने अब यस क्षेत्रमा सक्रियपूर्वक भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूले पैदल यात्रीको अधिकार, सडकको सुरक्षा र सार्वजनिक शृङ्खलाको रक्षा गर्न तत्काल कदम उठाउनैपर्छ । अब अराजकता सह्य हुँदैन र सबैले जिम्मेवारीसाथ कार्य गर्नुपर्छ ।
Facebook Comments