तीनपाटन गाउँपालिकाद्वारा जडीबुटी निकासीको ठेक्का रद्द


सिन्धुली । तीनपाटन गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा जडीबुटी तथा कवाडी निकासीका लागि दिएको ठेक्का सम्झौता रद्द गरेको छ । गाउँपालिकाले फापरचुली निर्माण सेवा प्रालिसँग भएको सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
आज बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार, उक्त निर्माण कम्पनीले ठेक्का सम्झौतामा उल्लेख गरिएका शर्तहरू बारम्बार उल्लंघन गरेको पाइएपछि ठेक्का सम्झौता रद्द गरिएको हो ।
गाउँपालिकाका अनुसार, ठेक्का नं. ०१/२०८२/०८३ अन्तर्गत जडीबुटी, कवाडी र जीवजन्तु लगायतका वस्तुहरूको व्यावसायिक उपयोग तथा निकासी कर संकलनका लागि कमलामाई नगरपालिका–६ स्थित फापरचुली निर्माण कम्पनीलार्ई जिम्मेवारी दिइएको थियो ।
गाउँपालिकाले स्थानीय नागरिकलाई आय ठेक्का सम्झौता रद्द गरेकाले आजैको मितिबाट कुनै पनि राजश्व नबुझाउन जानकारी गराएको छ । साथै ठेक्का सम्झौता रद्द भएपछि अब गाउँपालिकाले उक्त कार्यका लागि नयाँ प्रक्रिया सुरु गर्ने तयारी थालेको छ ।
Facebook Comments