देउवा देश छाडेर भाग्ने नेता होइनन् : प्रवक्ता महत

User Image मेयरसाप डेस्क | २०८२ असोज १२ गते १५:५२
Image of https://mayorsap.com/storage/photos/10/68d8dac4eec77.jpg

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्रको नेतृत्व परिवर्तनको विवाद र हस्ताक्षर अभियानले कार्यकर्तामा सिर्जना गरेको अन्योललाई केन्द्रीय समितिले नै समाधान गर्ने स्पष्ट पारेका छन् ।

आज पत्रकार भेटघाटका क्रममा बोल्दै उनले सम्पूर्ण कांग्रेसीहरू एकजुट भएर केन्द्रीय समितिमार्फत सामूहिक निष्कर्ष निकाल्ने र पार्टी पङ्क्तिमा उत्साह भर्ने काम गर्नुपर्नेमा जोड दिए । 

उनका अनुसार अधिवेशन प्रक्रियालाई पनि केन्द्रीय समितिले नै छिटोभन्दा छिटो पूरा गरेर अगाडि बढाउनेछ । महतले पार्टी सभापति शेरबहादुर देउवा को बचाउ गर्दै उनी लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर लडेको व्यक्ति भएको बताए ।

देउवाले ’पासपोर्ट बनाएर देश छोडेर भाग्न खोज्यो’ भन्ने जस्ता भ्रम फिँजाइएको भन्दै महतले आपत्ति जनाए । उनले साङ्घातिक हमला हुने अवस्थामा समेत घर नछोडेको भन्दै देउवा देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता नभएको जिकिर गरे ।

उनले पुराना नेताहरूलाई चुनावमा लड्न दिन्नौँ भन्ने अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै जनताले नेता रोज्ने अधिकार लाई रोक्ने अधिकार कसैलाई पनि नभएको स्पष्ट पारे ।


Facebook Comments