डे*ङ्गी रोग स*ङ्क्रमणबाट जोगिन काठमाडौं महानगरको आग्रह

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68dd0fba92e01.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोगको सङ्क्रमण कायमै रहेको भन्दै नगरवासीलाई सचेत रहन आग्रह गरेको छ ।

महानगरले डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने काम वडा र समुदायस्तरमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका तथा स्थानीयको सहभागितामा जोडतोडका साथ भइरहेको स्पष्ट पारेको छ ।

डेङ्गीको सङ्क्रमण दर भदौ, असोज र कात्तिक महिनामा बढी देखिने गरेको छ । डेङ्गी फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्छ ।

सडकका खाल्टाखुल्टी, गमला, पानी जमेका भाँडा, टायर र कौसी जस्ता स्थानमा लामखुट्टेको बासस्थान हुने भएकाले ती स्थानमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

सन् २०२२ मा २,९७३ जनामा सङ्क्रमण देखिएकोमा यस वर्ष पुसदेखि हालसम्म २४८ जनामा डेङ्गी सङ्क्रमण देखिएको महानगरले जनाएको छ ।

महानगरले डेङ्गीसहितका स्वास्थ्यसम्बन्धी गुनासा र परामर्शका लागि ११८० नम्बरको निःशुल्क टेलिफोन सेवा पनि सञ्चालनमा ल्याएको छ ।


Facebook Comments