जेनजी समूहले भन्यो– ‘क्षतिको जिम्मेवारी राज्य र घुसपैठ गर्नेले लिनुपर्छ’


काठमाडौं । भदौ २४ गतेको जेन–जी आन्दोलनमा संलग्न विभिन्न युवा समूहहरूले विज्ञप्ति जारी गर्दै नयाँ राजनीतिक परिस्थिति र आन्दोलनका क्रममा भएको क्षतिप्रति आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
भदौ २३ गते माइतीघरमा प्रदर्शनीको अनुमति लिने पुरूषोत्तम यादव र उनको समूहले आन्दोलनमा भएको अराजकता र क्षतिको जिम्मेवारी राज्य र स्वार्थवश घुसपैठ गर्ने तत्वहरूले लिनुपर्ने स्पष्ट पारेको छ ।
उनीहरूले आफूहरूले महिनौँदेखि संयमित र संवैधानिक ढंगबाट तयारी गरेको र सदैव शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने बताएका छन् ।
असोज २३ गते (अक्टोबर) मा कुनै कार्यक्रम आयोजना नगरेको र आफ्नो आन्दोलन कुनै दल वा संस्थाका लागि नभई जनताको आवाजका लागि भएको यादवले प्रस्ट पारेका छन् ।
इन्डिजिनियस जेन–जी कलेक्टिभ, जेन–जी मुभमेन्ट अलायन्स, र हाउ टू देश विकास लगायतका अन्य समूहहरूले पनि अवधारणापत्र सार्वजनिक गरेका छन् ।
उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षता जस्ता अवधारणा स्वीकार गरेको तर आफ्नो शंका वर्तमान राजनीतिक नेतृत्व, दलीय नैतिकता, कार्यप्रणाली र दलतन्त्रप्रति रहेको स्पष्ट पारेका छन् ।
उनीहरूले पुराना राजनीतिक दलका तेस्रो पुस्ताका नेताहरूलाई आ–आफ्ना दलभित्र हस्तक्षेप गरी रूपान्तरण गर्न र लुटेको धन फिर्ताको पहल गर्न आह्वान गरेका छन् ।
उनीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतलाई पक्राउ गरी छानबिन अघि बढाउन समेत माग गरेका छन् ।
Facebook Comments