दशैं बिदामा पनि मन्त्री घिसिङद्वारा बीपी र मध्यपहाडी राजमार्गको निरीक्षण

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68de66ea8016d.png

मन्थली । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दशैँको बिदाको सदुपयोग गर्दै बीपी राजमार्ग र मध्यपहाडी राजमार्ग लगायत आसपासका सडक तथा पुलहरूको स्थलगत निरीक्षण र अनुगमन गरेका छन् ।

सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका महत्त्वपूर्ण सडक खण्डको निरीक्षण गरेका हुन् ।

बाढी–पहिरोका कारण बिग्रे–भत्केका संरचनाहरूको अस्थायी रूपमा भए पनि जतिसके छिटो मर्मत गर्न घिसङले निर्देशन दिए । भत्केका पक्की पुलहरूको स्थानमा ‘बेली ब्रिज’ र ‘कल्भर्ट’ विकल्प व्यवस्थापन गरेर निर्माण गर्न निर्देशन दिए ।

यातायात सहज बनाउन सडकमा देखिएका खाल्टाखुल्टी तत्काल पुरेर सहजरूपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई कडा निर्देशन दिए ।

मन्त्री घिसिङले बीपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधीन मध्यपहाडी लोकमार्गको कार्यप्रगतिका बारेमा विशेष जानकारी लिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।


Facebook Comments